धरान : यसपालि सम्पन्न २४ औँ बुढासुब्बा गोल्डकप फुटबल प्रतियोगिताको आम्दानी खर्चको हिसाब आयोजक धरान फुटबल क्लबले बिहीबार पत्रकार सम्मेलन आयोजना गरी सार्वजनिक गरेको छ ।

सार्वजनिक गरिएको आयव्यय अनुसार गोल्डकपलाई भुक्तानी हुन बाँकी कोशी प्रदेश खेलकुद विकास बोर्ड र राष्ट्रिय खेलकुद परिषद्को सहयोग रकम बाहेक प्रतियोगिता १७ लाख, २८ हजार, ६०० रुपैयाँ नाफामा देखिएको छ ।

प्रतियोगीताका लागि प्रदेश खेलकुद विकास बोर्डले १५ लाख र राष्ट्रिय खेलकुद परिषद्को १० लाख रुपैयाँ दिने यसअघिनै निर्णय गरिसकेको छ । भुक्तानी हुन बाँकी उक्त रकम प्राप्त भएपछि ४२ लाख रुपैयाँ भन्दा बडी क्लबलाई बचत हुने पत्रकार सम्मेलनमा कोषाध्यक्ष धनबहादुर राईले बताए ।

आयोजक धरान फुटबल क्लबले २४ औँ संस्करणको तयारीको क्रममा प्रतियोगिता सम्पन्न भएको १ महिना भित्र हिसाब किताब सार्वजनिक गर्ने प्रतिबद्धता जनाएको थियो । सोही अनुसार क्लबले हिसाब सार्वजनिक गरेको हो ।

बुढासुब्बा गोल्डकपलाई यसपालि एक मुष्ट रकमको हिसाबमा सबै भन्दा बढी विदेशमा रहेको गोल्ड कपका पूर्व खेलाडीहरू, फ्यानहरू र सहयोगीहरूबाट प्राप्त भएको देखिएको छ । विभिन्न मुलुकमा रहेको उनीहरूको एक मुष्ट सहयोग रकमको अङ्क १९ लाख ५५ हजार माथि रहेको छ ।

त्यसमा सबै भन्दा बढी धरान हङकङ मञ्चको संयोजनमा कुल ६ लाख १० हजार रुपैयाँ, धरान युके समाज ५ लाख, धरान युके हेल्पिङ हेण्डस् ४ लाख रुपैयाँ रहेको छ ।

गोल्डकपका संयोजक धरान उपमहानगरपालिकाले ९ लाख रुपैयाँ उपलब्ध गराएको छ । वडा कार्यालयहरूबाट कुल ८ लाख रुपैयाँ सहयोग प्राप्त भएको छ । गोर्खा ब्रुअरी प्रालिबाट ४ लाख, क्कलिटि नुडल्सबाट २ लाख रुपया प्राप्त भएको छ ।

गोल्डकपको २४ औँ संस्करणमा दर्शकहरूबाट १३ लाख ६० हजार रुपैयाँ सङ्कलन भएको छ । उक्त रकम रङ्गशालाको दैनिक गेट टिकटबाट १२ लाख ८८ हजार र सिजनल टिकट बिक्रीबाट ७९ हजार रुपैयाँ प्राप्त भएको हो ।

हाल सम्मको हिसाब अनुसार गोल्डकपका लागि कुल आय ७६ लाख २४ हजार ५८५ रुपैयाँ रहेको छ । हाल सम्म भएको कुल खर्च ५८ लाख, ९५ हजार ६०० सय रुपैयाँ खर्च भएको आयोजक धरान फुटबल क्लबले सार्वजनिक गरेको हो ।

अध्यक्ष प्रताप तामाङले भने, ‘हिसाब पारदर्शी बनाउने हाम्रो प्रतिबद्धता अनुसार एक महिना पनि नबिताई हामीले हिसाब सार्वजनिक गरेका छौँ ।’

अघिल्लो गोल्डकपहरूमा पनि टिममा हामी नै भएपनि हिसाब पारदर्शी बनाउने कुराप्रति गम्भीर हुन नसकेको बताउँदै उनले भने, ‘यसपालि बुढा सुब्बाको तयारीमा हामीले सबैसँग हिसाब पारदर्शी बनाउने प्रतिबद्धता जनाएका थियौँ ।’

उनले यसपली गोल्डकप आयोजनमा मितव्ययिता अपनाएकोले पनि बचत हुन सकेको बताए । उनले भने, ‘हामीले झकिझकाउनमा हुने बढी खर्च रोक्यौँ, मितव्ययीतकै कारण विजेताहरूलाई ग्राउन्डमा नै नगद पुरस्कार दिने हाम्रो योजनामा हामी सफल भयौँ ।’

धरान फुटबल क्लब नेतृत्व परिवर्तन भएपछि गोल्डकप गर्न छोटो समय भएकाले ‘यसपली बुढासुब्बा हुन्छ हुन्न भन्ने कुरामा हामी पनि कन्फिडेन्स थिएनौँ’ भन्दै अध्यक्ष तामाङले युके, हङकङका साथीहरूले सहयोग गर्ने बचन दिएपछि ‘हाम्रो टिमको रातदिनको खटाइबाट गोल्डकप गर्न सफल भएको’ बताए ।

क्लबका महासचिव नवीन राईले सञ्चालन गरेको पत्रकार सम्मेलनमा क्लबका उपाध्यक्ष नरेन्द्र चोङबाङले स्वागत मन्तव्य, एन्फा जिल्ला उपाध्यक्ष भगत चोङबाङ, वरिष्ठ पत्रकार हर्ष सुब्बाले गोल्डकपको २४ संस्करण सफल आयोजन गरेकोमा अध्यक्ष प्रताप तामाङ सहितको टिमलाई बधाई दिए ।

बुढासुब्बा गोल्डकपको २४ औँ संस्करण फागुन २६ देखी चैत ३ गते सम्म धरान रङ्गशालामा सञ्चालन भएको थियो ।

Budhasubba Goldcup aamdani 2