धरान : धरानको बरगाछीमा १५ शय्या क्षमता भएको धरान सिटी हस्पिटल सञ्चालनमा आएको छ ।
उक्त अस्पताल शुक्रवार धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङद्वारा ९:३० बजे उद्घाटन गर्ने तय भए तापनि मेयर साम्पाङ १ बजे सम्म उपस्थित नभएपछि पश्चात् नेपाल पत्रकार महासङ्घ सुनसरीका अध्यक्ष जनकऋषि राईले उद्घाटन गरेका थिए।
अस्पतालकी अध्यक्ष एवम् वरिष्ठ स्त्री तथा प्रसूति रोग डाक्टर खुम्बु अग्रवालका अनुसार हस्पिटल १५ बेड क्षमताको रहेको र आँखा र दाँत बाहेकका बिशेषज्ञ डाक्टरहरूबाट ओपिडी सेवा उपलब्ध हुने छ।
दैनिक रूपमा ओपिडी सेवा उपलब्ध हुनेछ भने चौबिसै घण्टा २ जना डाक्टर सहित इमर्जेन्सी सेवा उपलब्ध रहने उनले बताइन् । ‘हामीले इमर्जेन्सी सेवा दिने हो, २ जना डाक्टर चौबिसै घण्टा हुनुहुन्छ,’उनले भनिन्।
बिहान ९ बजेदेखि ५ बजेसम्म ओपिडी रहन्छ । ल्याब र फार्मेसी पनि चौबिसै घण्टा सुविधा हुने अस्पतालले जनाएको छ । अस्पतालमा माइनर अप्रेसन पनि हुने तथा तत्काल व्यवस्थित अप्रेसन थिएटर र आइसियु सुविधा नभएकोले जटिल किसिमका बिरामी भर्ना नलिने पनि डाक्टर अग्रवालले स्पष्ट पारिन् । ‘सेवाग्राहीहरूले विश्वास गर्दै जानुभयो भने चाँडै हामी अप्रेसन थिएटर र आइसियु सेवा पनि दिने योजनामा छौँ,’उनले भनिन् ।
अस्पतालमा अत्याधुनिक ल्याब तथा प्याथोलोजी सेवा, एक्स-रे, इसिजि सेवा, एम्बुलेन्स सेवा पनि रहेको अस्पतालले जनाएको छ । यस्तै भिडियो एक्स रे, इकोकार्डियोग्राफी, नवजात शिशु तथा बाल रोग उपचार, प्रसूति एवं स्त्रीरोग सम्बन्धी सम्पूर्ण सेवा पनि रहेको अस्पतालले जनाएको छ ।
चार जना सञ्चालक सदस्य रहेको अस्पतालमा करिब एक करोड लगानी भएको पनि अध्यक्ष अग्रवालले जानकारी दिइन ।










































































