धरान : दोस्रो अल्फा बिटा खुल्ला बास्केटबल प्रतियोगिताको उद्घाटन खेलमा ब्रर्दश बास्केटबल क्लब विजयी सुरुवात गरेको छ । प्रतियोगिता धरान रङ्गशाला स्थित कभर्ड हलमा आज शनिवार देखी सुरु भएको हो ।

पहिलो खेलमा ब्रर्दशले अइएसएल नेपाल काठमाडौँ ए टिमलाई ५१-४४ अङ्कको अन्तरले पराजित गर्दै अगाडि बढेको छ । खेलमा ब्रर्दश र आइएसएल नेपालले पहिलो क्वाटरमा ९-८, दोस्रो क्वाटरमा १४-१३, तेस्रो क्वाटरमा १९-११ र चौथो क्वाटरमा ९-१२ अङ्क जोडेका थिए । टिमलाई जित दिलाउन ब्रर्दशका टिम क्याप्टेन कविन मगरले व्यक्तिगत २२ अङ्क जोडेका थिए ।

अन्य खेलमा महिला तर्फको खेलमा युवा जागृति, रेड डेभिल्स र आइएस एल नेपाल काठमाण्डौले जित निकाल्न सफल भएको छ । युवा जागृतिले तरहरालाई ३९-३ अङ्कको फराकिलो अन्तरले पराजित गरे । रेडडेभिल्सले इमोर्टल क्लबलाई २३-१७ र आइएसएल नेपालले धरान मेघा कलेजलाई ३५-३० अङ्कको अन्तरले पराजित गरे ।

खेलको निर्धारित समयमा आइएसएल र धरान मेघाले २९-२९ बराबरी अङ्क जोडे पछि खेल ओभर टाइममा गएको थियो । थप ५ मिनटको समयमा अइएसएल विजयी भए । यसैगरी पुरुष तर्फको दोस्रो खेलमा होलिल्याण्डले आइएसएल नेपाल वि टिमलाई ६६-१९ अङ्कको अन्तरले पराजित गर्दै अगाडि बढेको छ ।

प्रतियोगिता धरान बास्केटबल सङ्घको आयोजना तथा सुनसरी बास्केटबल सङ्घको सहयोगमा सञ्चालन भएको हो ।

यसअघि प्रतियोगिताको कोशी प्रदेश सांसद विजयकुमार राईले उद्घाटन गरेका थिए । उनले तिनै तहको सरकारले धरानको खेल बिकासकालागि आवश्यक बजेट नछुटाएकाले बास्केटबल कभर्ड हल व्यवस्थित नभएको बताए ।

खेलकुदको लागि राज्यबाट बजेट छुट्टिए मात्र दक्ष खेलाडी उत्पादन हुने बताउँदै उनले चाडै धरान १६ मा बास्केटबल कोर्ट व्यवस्थित गर्ने काममा प्रतिबद्धता जनाए ।

प्रतियोगितामा महिला तर्फ लिगकम नकआउटको र पुरुष तर्फ नकआउटको आधारमा खेल सम्पन्न भइरहेको छ । प्रतियोगितामा महिला तर्फ ७ टिम र पुरुष तर्फ १७ टिम सहभागी छन् ।

पुरुष तर्फ आइएसएल नेपाल काठमाडौँ ए र वि टिम, यलम्वर क्लब, तरहरा ए र वि टिम, जेविए झापा, युवा जागृति क्लब, व्रदस क्लब, धरान १३, होराइजन क्लब, युनाइटेड गोर्खा, डिपो कलेज, केन्द्रीय प्रविधि क्याम्पस हात्तीसार, मिराकल क्लब, इमोर्टल क्लब, होलिल्याण्ड र धरान मेघा कलेजले सहभागी छन् ।

महिला तर्फ आइएसए नेपाल, धरान मेघा कलेज, तरहरा, युवा जागृति, रेड डेभिल्स, इलुजन झापा र इमोर्टल क्लब सहभागी छ ।

प्रतियोगितामा पुरुष तर्फका विजेताले नगद ५० हजार, उपविजेताले नगद २५ हजार, ट्रफि, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ । महिला तर्फका विजेताले नगद २० हजार र उपविजेताले नगद १० हजार ट्रफि, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ ।

व्यक्तिगत विधा तर्फ प्रतियोगिताको धरान मेघा मोस्ट भ्यालुएवल प्लेयर उपाधि विजेताले पुरुष तर्फ नगद १० हजार र महिला तर्फ नगद ५ हजार, ट्रफि, प्रमाणपत्र र अल्फा बिटा निःशुल्क छात्रवृत्ति प्राप्त गर्नेछ ।

प्रतियोगिताको राइजिङ प्लेयरको पुरुष तर्फका उपाधि विजेताले नगद ५ हजार र महिला तर्फका विजेताले नगद २ हजार ५ सय रुपैयाँ, ट्रफि र प्रमाणपत्र प्राप्त गर्नेछ । 

प्रतियोगिताको फाइनल म्याच अघि हुने तेस्रो प्रकाश पौडेल थ्री पोइन्ट कम्पिटिसनका महिला र पुरुष विजेताले जनही ५ हजार, ट्रफि र प्रमाणपत्र प्राप्त गर्नेछ ।

धरान बास्केटबल सङ्घका अध्यक्ष सुरजकुमार लामाको सभापतित्वमा भएको उद्घाटन समारोहमा सुनसरी बास्केटबल अध्यक्ष नारायण सुवेदी, पूर्व मेयर तिलक राई, युवा नेता भिमज्वाला राई, वडाध्यक्षहरू विवेक राई, नरेन्द्रकुमार राई प्रवीण, मुरारि भट्टराई, रमेशकुमार राई उपस्थित थिए ।

कांगे्रस धरान उपमहानगर अध्यक्ष श्याम पोख्रेल, पर्वत राई, सुनसरी फुटबल सङ्घका अध्यक्ष नवीन राईको पनि उपस्थिति थियो ।  प्रतियोगिताको सम्पूर्ण खेल धरान १६ स्थित धरान रङ्गशाला इन्डोर बास्केटबल कोर्टमा सम्पन्न भइरहेको छ । प्रतियोगिता ज्येष्ठ ४ गते सम्म चल्ने छ ।