धरान : ताप्लेजुङ स्थित मुक्कुमलुङ पाथीभरा मन्दिर क्षेत्रमा रुख कटान तत्काल रोक्न माग गर्दै मुक्कुमलुङ बचाउ सङ्घर्ष समितिले सोमवार कोशी प्रदेश पर्यटन वन तथा वातावरण मन्त्रालयको धरान स्थित वन निर्देशनालय कार्यालय घेराउ गरेका छन् ।

समितिले स्थानीय जनताको भावना र मागलाई कुल्चेर मुक्कुमलुङमा जबरजस्ती केबलकार बनाउन डकैती शैलीमा आधारातमा रुख कटान गर्न बल प्रयोग गरेको विरोधमा वन निर्देशनालय घेराउ गरेका हुन ।

मुक्कुमलुङ याक्थुङ लिम्बू समुदायसँग सम्बन्धित मुन्धुमी, सांस्कृतिक तथा आध्यात्मिक स्थल भएकोले त्यहाँको प्राकृतिक स्वरूपलाई यथावत् राख्न केबलकारको विरोधमा ताप्लेजुङमा आन्दोलन गर्दै आएको छ ।

वन निर्देशनालय कार्यालयका निर्देशक ईन्द्रमणि भण्डारीले घेराउ गर्न पुगेको समूहसँग छलफल गर्दै असन्तुष्ट समूह हुँदाहुँदै जबरजस्ती ढङ्गले वन फडानी नगर्ने बताए । उनले स्थानीय बासीहरूको मर्म भावनालाई आत्मसात् गरी कानुनी सहमतिका आधारमा कार्य सम्पादन गर्ने बताए ।

घेराउ गर्न पुगेको आन्दोलनकारीहरूले तत्काल बन फडानी रोक्न दबाब दिएपछि उनले वन तथा वातावरण मन्त्रालयका सचिवलाई तुरुन्त स्थितिका बारेमा जानकारी गराएका थिए ।

सङ्घर्ष समितिको समूहले धरान स्थित वन निर्देशनालय कार्यालयमा ‘कोशी’ लेखिएको प्रदेशको बोर्ड मेटाउँदै कोशी नाम खारेजी गर, सम्पूर्ण पहिचानवादी एक हौँ, कोशी प्रदेश मान्दैनौ जस्ता नारा लगाएका थिए ।

घेराउ गर्न पुगेको समूहमा मुक्कुमलुङ बचाउ सङ्घर्ष समितिका संयोजक श्री लिङखिमको अगुवाइमा जसपा नेपाल धरान अध्यक्ष ताजुव लिम्बु, सुमन चेम्जोङ, जेन्टल लावती नेताहरू साथै पहिचानवादी मोर्चा, सङ्घीय लोकतान्त्रिक राष्ट्रिय मञ्च जनमुक्ति, पहिचानको लागि युवा लगायत सहभागी थिए ।

पहिचानवादी मोर्चाको विज्ञप्ति : 

पहिचानवादी मोर्चाका संयोजक प्रा.डा. महेन्द्र लावतीले सोमबार नै प्रेस विज्ञप्ति गर्दै ताप्लेजुङमा अवस्थित याक्थुङ लिम्बुहरूको पवित्र आस्थाको केन्द्र आध्यात्मिक स्थल मुक्कुमलुङ यूमामाङ देवस्थललाई राज्यसत्ता र शक्तिको आडमा अतिक्रमण गरी पाथीभरा बनाइएकोमा विरोध गरेका छन् ।

त्यहाँ केबलकार बनाउन लागिएको विरुद्धमा विगतदेखि नै मौलिक रैथाने नाम मुक्कुमलुङ पुनः स्थापित गर्नुपर्ने र केबलकार बनाउन नहुने लगायतका माग राखी स्थानीय जनता आन्दोलनरत रहेको कुरा विज्ञप्तिमा उल्लेख छ ।

स्थानीय जनताको भावना र मागलाई कुल्चेर मुक्कुमलुङमा जबरजस्ती केबलकार बनाउन डकैती शैलीमा आधारातमा रुख कटान गर्न थालिएको घट्नप्रति पहिचानवादी मोर्चा घोर विरोध र भर्त्सना गर्दछौँ भनी विज्ञप्तिमा उल्लेख छ ।