वराहक्षेत्र : वराहक्षेत्र नगरपालिका वडा नं ३ स्थित नडाहामा एसइई कप फुटबल प्रतियोगिता आयोजना हुने भएको छ । कक्षा-१० अर्थात् एसइईको परीक्षा दिएर बसेका छात्रहरूलाई केन्द्रित गरेर स्थानीय स्काई इङ्लिस स्कुलको संरक्षणमा रहेको स्काई फुटबल एकेडेमीले उक्त प्रतियोगिता आयोजना गर्न लागेको हो ।

स्थानीय एभरेस्ट फुटबल क्लबको खेलमैदानमा आयोजना हुने प्रतियोगितामा सुनसरीमा रहेका २२ वटा संस्थागत तथा सामुदायिक विद्यालयले प्रतियोगितामा सहभागिता जनाउने आयोजक स्काई फुटबल एकेडेमीका प्रशिक्षक सुमन कार्कीले बताए । एसइई परीक्षा दिएर बसेका विद्यार्थीहरू सहभागी हुने प्रतियोगिता जेठ १९ गतेबाट सुरु भएर असार १ गते सम्पन्न हुनेछ ।

विद्यार्थीहरूलाई लागूपदार्थ दुर्व्यसनीबाट टाढा राख्न र लागूपदार्थ दुर्व्यसनी विरुद्ध सचेतना जगाउने उद्देश्यले आयोजना गरिएको प्रतियोगिताको विजेताले नगद ३० हजार सहित ट्रफि, मेडल र प्रमाण पत्र प्राप्त गर्नेछ भने उपविजेताले नगद १५ हजार सहित ट्रफि, म्याडल र प्रमाण पत्र प्राप्त गर्नेछ ।

प्रतियोगितामा उत्कृष्ट विधागत खेलाडीलाई नगद सहित ट्रफीले पुरस्कृत गरिने र प्रतियोगिताबाट उत्कृष्ट २२ जना खेलाडी छनोट गरी टिम तयार बनाएर ती खेलाडीहरूलाई प्लस टु सम्म छात्रवृत्ति प्रदान गरिनेछ । प्रतियोगिताको कुल लागत २ लाख अनुमानित गरिएको आयोजक स्काई फुटबल एकेडेमीका प्रशिक्षक सुमन कार्कीले बताए ।