धरान : अमेरिकी राष्ट्रपति जो बाइडेनका छोरा हंटर बाइडेन लागुऔषध प्रयोग गरेको अवस्थामा अवैध रूपमा बन्दुक राखेको अपराधमा अदालतले दोषी ठहर गरेको छ ।

डेलावेयरको एक अदालतमा हिजो मङ्गलवार भएको सुनवाइमा १२ सदस्यीय जुरीले सन् २०१८ मा हंटर बाइडेनले बन्दुक खरिद गर्दा भरेको फाराममा आफूले ड्रग प्रयोग गर्ने बारेमा गलत जानकारी दिएको ठहर गरेको बीबीसीको एक समाचारमा जनाइएको छ ।

हंटर वाइडेनले डेलावेयरको एक बन्दुक पसलबाट रिवाल्भर खरिद गरेर ११ दिन साथमा राखेका थिए । राष्ट्रपति पुत्र विरुद्ध चलिरहेको मुद्दामा उनलाई सबै ३ मुद्दामा दोषी पाइएको हो । उक्त अपराधका लागि हंटर बाइडेनलाई २५ वर्ष सम्मको जेल सजाय हुनसक्छ । तर पहिलो पटक दोषी पाइएको हो भने यती लामो सजाइ दिइन्न ।

मुद्दाको सुनवाइको क्रममा प्रत्यक्षदर्शी साक्षीहरूको बयान सुनेपछि जुरीले ५४ वर्षीय हंटर बाइडेनको लागुऔषध प्रयोग गर्ने लतको बारेमा पनि चर्चा गरे ।

हंटर बाइडेनले यसअघि उनी माथि गलत बयान दिएको आरोप र अवैध रूपमा बन्दुक राखेको आरोप लगाइएकोमा आफूले अपराध गरेको भनी स्वीकार गरेका थिएनन् ।

अमेरिकाको यो हाई प्रोफाइल मुद्दामा हंटर बाइडेन त्यस्तो बेला दोषी ठहरिएका छन् जुन बेला आफ्ना पिता राष्ट्रपति जो बाइडेन फेरी दोस्रो पटक राष्ट्रपतिको चुनाव लड्ने तयारी गरिरहेका छन् ।