धरान : धरानका कतिपय सामुदायिक स्कुलहरूले योग्यता नपुगेका शिक्षक राखेर कक्षा ११-१२ सञ्चालन गरिरहेको उल्लेख गर्दै विद्यार्थी सङ्गठनहरूले उपमहानगरपालिकासँग छानबिन गरी कारबाही गर्न माग गरेका छन ।

धरानका ४ विद्यार्थी सङ्गठन नेविसंघ सभापति विनोद आलेमगर, अनेरास्ववियु अध्यक्ष प्रभात तामाङ, अखिल क्रान्तिकारी अध्यक्ष विपिन लिम्बुद्वारा संयुक्त रूपमा लिखित उजुरी गर्दै त्यस्ता विद्यालयलाई कारबाही गर्न माग गरेका हुन ।

विद्यार्थी सङ्गठनहरूले उपमहानगरपालिकाको शिक्षा युवा तथा सामाजिक विकास विकास महाशाखालाई संयुक्त हस्ताक्षर सहितको पत्र बुझाएका छन् ।

पत्रमा सामुदायिक उच्च माध्यमिक तह शिक्षक व्यवस्थापन निर्देशिका, २०७१ संशोधन सहितको परिच्छेद ३ मा कक्षा ११ र १२ अध्यापनका लागि शिक्षकको शैक्षिक योग्यता सम्बन्धित विषयमा न्यूनतम द्वितीय श्रेणीमा स्नातकोत्तर तह उत्तीर्ण हुनुपर्ने व्यवस्था गरिएकोमा ध्यानाकर्षण गराइएको छ ।

भनिएको छ ‘तर कतिपय विद्यालयहरूमा प्रधानाध्यापक तथा विद्यालय व्यवस्थापन समितिको संरक्षणमा स्नातकोत्तर तह उत्तीर्ण नगरेका तथा स्नातकोत्तर तह अध्ययन नै नगरेका शिक्षकहरूबाट लामो समयदेखि अध्यापन गराइरहेको छ ।’

प्रधानाध्यापक र व्यवस्थापन अध्यक्षको मिलेमतोमा भएको त्यस्तो गैरजिम्मेवार कार्यले गम्भीर प्रकृतिको अख्तियार दुरुपयोग भइरहेको पत्रमा उल्लेख छ । भनिएको छ ‘त्यस्ता शिक्षकलाई अविलम्ब छानबिन गरी कारबाहीको दायरा ल्याउन जोडदार माग गर्दछौँ ।’ माग सुनवाइ नभए कडा भन्दा कडा कदम उठाउने चेतावनी पनि पत्रमा दिइएको छ ।

विद्यार्थी सङ्गठनहरूले उक्त उजुरीपत्र धरान उपमहानगरपालिका मेयर, मेयरको सचिवालय, उपमेयर, उपमेयरको सचिवालय, शिक्षा विकास तथा समन्वय इकाई, सुनसरी, अख्तियार दुरुपयोग अनुसन्धान अयोगको कार्यालय, इटहरीलाई समेत बोधार्थ पठाएको छ ।

विद्यार्थीहरूले उपमहानगरपालिकाका शिक्षा महाशाखा प्रमुख गणेश प्रसाद खतिवडालाई बिहीबार पत्र बुझाएका हुन ।student-education-PR-2