धरान : धरान हात्तीसार स्थित केन्द्रीय प्रविधि क्याम्पस सञ्चालक समितिले आर्थिक वर्ष २०८१/०८२ को लागि अनुमानित १६ करोड, ६० लाख, ४८१ रुपैयाँको बजेट पारित गरेको छ ।

समितिको सोमवार बसेको २६ औँ पूर्ण बैठकमा लेखा प्रमुख सुरेश सुवेदीद्वारा प्रस्तुत अनुमानित बजेट व्यापक छलफलपछि पारित गरिएको हो । उनले गत: आर्थिक वर्ष २०८०/०८१ को बजेटमा कुल १२ करोड ९२ लाख, ३९ हजार ६८८ रुपैयाँ विनियोजन भएकोमा लक्ष्य नजिक खर्च भएको बताए ।

उनका अनुसार गत वर्ष विनियोजित पुँजीगत खर्च ८५ दशमलव ६७ प्रतिशत तथा सञ्चालन खर्च ८१ दशमलव ५२ प्रतिशत खर्च भएको थियो । गत: वर्ष पुँजीगत तर्फ कुल ६६ लाख ८२ हजार २६९ रुपैयाँ, सञ्चालन तर्फ ९ करोड, ८९ लाख, ९६ हजार ३२० रुपैयाँ खर्च भएको थियो ।

२०८१/०८२ को अनुमानित बजेटमा क्याम्पसको विद्यार्थी कोटा पूर्ण भएमा कुल आन्तरिक आम्दानी ४ करोड, ४४ लाख, ४३ हजार ६४५ रुपैयाँ हुन आउने अनुमान गरिएको छ । तर, विद्यार्थीहरूले बिचमै पढाई छाडेर जाने प्रवृत्तिलाई हेर्दा अनुमानको ७० प्रतिशत लक्ष्य प्राप्ति हुनसक्ने बजेटमा उल्लेख छ ।

बजेट अनुसार क्याम्पसलाई यसपालि एक मुष्ठ अनुदान ७ करोड, ९० हजार रुपैयाँ प्राप्त हुनेछ । त्रिवि अनुदान आयोग, सङ्घीय सरकार, प्रदेश तथा स्थानीय सरकारबाट कुल १ करोड, ९६ लाख ३ हजार रुपैयाँ प्राप्त हुने अनुमान गरिएको छ ।

क्याम्पसको शिक्षण तर्फ अतिरिक्त तथा आंशिक समेतको तलब खर्च कुल ९ करोड, १३ लाख, ८३० रुपैयाँ, प्रशासन तर्फ ३ करोड, ८३ लाख, ६६ हजार रुपैयाँ खर्च हुने अनुमान गरिएको छ ।

बैठकमा सहायक क्याम्पस प्रमुख सहप्राध्यापक बबिता अधिकारीले नीति तथा कार्यक्रम प्रस्तुत गरिन् । क्याम्पसको नयाँ प्रशासकीय भवन कोशी प्रदेश सरकारले निर्माण गरिदिने भएको बताइन् । बहु वर्षीय योजना अनुसार प्रदेश सरकारबाट ठेक्कामा निर्माण हुने भवनको डिपिआर अनुसार कुल लागत ३ करोड भएको बताइएको छ ।

त्रिविको १ करोड रुपैयाँको लागतमा क्याम्पसमा व्यवसायीक उपयोग गर्न सकिने नयाँ क्यान्टिन भवन निर्माणको ठेक्का प्रक्रिया अघि बढेको उनले बताइन् । यसैगरी क्याम्पसको भौतिक पूर्वाधार निर्माणका लागि भारतीय दूतावासले चासो देखाएका छन् ।

उनले क्याम्पसले स्वायत्तताको अभ्यास अघि बढाउँदै तिने तहको सरकार तथा अन्य क्षेत्रको साझेदारीमा शैक्षिक तथा भौतिक विकासका कार्यहरू अघि बढाउन थालेको बताइन् । पछिल्लो समय विद्यार्थीहरूमा विज्ञान र प्राविधिक शिक्षाप्रति बढेको आकर्षणलाई उपयोग गर्ने क्याम्पसले प्रयास गरिरहेको बताइन् ।

बैठकमा उपस्थित सञ्चालक सदस्य रहेकी कोशी प्रदेशसभा सदस्य यशोदा कायस्थका अनुसार प्रदेश सरकारले क्याम्पसको नयाँ प्रशासकीय भवन निर्माणको लागि ठेक्का प्रक्रिया अघि बढाएको बताइन् । उनका अनुसार चालु आर्थिक वर्षमा निर्माण कार्य सुरु गर्न प्रदेश सरकारले ४४ लाख रुपैयाँ बजेट निकासा गरेको छ ।

त्रिभुवन विश्वविद्यालयको स्वायत्तताको नीति अपनाउँदै नेपालको पहिले केन्द्रीय प्रविधि क्याम्पस २०६९ सालमा स्वायत्ततामा गएको हो । स्वायत्ततामा गएका क्याम्पसहरू मध्ये धरान स्थित केन्द्रीय प्रविधि क्याम्पस उत्कृष्ट क्याम्पसको रूपमा रहँदै आएको छ ।

सञ्चालक समिति अध्यक्ष प्राडा. धनबहादुर कार्कीको सभापतित्वमा भएको पूर्ण बैठकमा क्याम्पस प्रमुख डा.दिलकुमार लिम्बुले स्वागत मन्तव्य प्रकट गरेका थिए । बैठक सञ्चालन सहायक क्याम्पस प्रमुख उपप्राध्यापक कामना वान्तावाले गरेकी थिइन् ।

kendriya prabhidi campus budget news 2