धरान : नेपालबाट ३ वर्ष अघि पढ्न अमेरिका गएकी २१ वर्षीय मुना पाण्डेको टेक्सास राज्यको ह्युस्टन स्थित अपार्टमेन्टमा सोमवार गोली हानी हत्या भएको छ ।

उनी ह्युस्टन कम्युनिटी कलेजकी स्नातक तहको छात्रा थिइन् । मुनालाई उनको कोठाभित्रै पुगेर गोली हानेको प्रहरी अनुसन्धानबाट पुष्टि भएको बताइएको छ ।

मुना हत्याको घटना अहिले सामाजिक सञ्जालमा भाइरल भएको छ । टिकटकको लुइँटेलजी luiteljee ID मा स्थानिय नेपाली समाजसँग सम्पर्क गरी दिइएको जानकारी अनुसार मुना पाण्डेको घर सङ्खुवासभा जिल्ला खाँदावरी-२ चेवा हो ।

उनी श्याम नारायण पाण्डेकी छोरी हुन । उनकी आमा अनिता अधिकारी पाण्डेसँग टेक्सास स्थित नेपाली समाजको सम्पर्क भएको बताइएको छ । बुबा श्याम नारायणलाई सम्पर्कमा आउन आग्रह गरिएको छ ।

घट्नाको प्रत्यक्ष भिडियो फुटेजहरू प्रहरीले लगेको छ । उक्त फुटेजहरू मुनाले अपार्टमेन्टमा आफैँले राखेको सर्भिलेन्स क्यामेरामा खिचिएको थियो ।

हत्याराले ओछ्यानमै पुगेर उनलाई गोली हानेको भिडियो फुटेज सामाजिक सञ्जालमा सार्वजनिक भएको छ । भिडियोमा मुनालाई तीन वटा गोली हानिएको देखिन्छ । ह्युस्टन प्रहरीले मुनालाई अपार्टमेन्टभित्रै धेरै वटा गोली लागेको विज्ञप्ति जारी गरेको छ ।