धरान : प्रोटोकल इन्स्टिच्युटको नाममा धरान-१२ चतरालाईनमा कम्प्युटर तालिम र सप्लाई गर्ने भन्दै खुलेको इन्ष्टिच्युटले विद्यार्थीहरूलाई विदेश लैजाने निहुँमा दजनौंको लाखौँ रकम ठगी गरेको खुलासा भएको छ।
कम्प्युटर तालिम र बिक्री वितरणको इजाजत पाएको प्रोटोकल कम्प्युटर इन्स्टिच्युटले वैदेशिक शिक्षाको कक्षा सञ्चालन गरिरहेको त्यहाँ भर्ना भएका विद्यार्थीहरूले बताएका छन् ।
वैदेशिक शिक्षा परामर्श, भाषा कक्षाका लागि धरान उपमहानगरपालिका शिक्षा महाशाखामा दर्ता समेत नभएको प्रोटोकल ईन्ष्टीच्युटले विद्यार्थीलाई भ्रममा राख्न एउटै ठाउँमा ३ वटा कन्सल्टेन्सी अवैध रूपमा चलाएको जापनिज भाषा सिक्न भर्ना भएका प्रदीप रानामगरले बताए ।
उनले भने ‘भाडाको कोठा एउटै छ, त्यहाँ काम भने ३ वटा कम्पनीको हुन्छ ।' प्रोटोकल कम्प्युटर ईन्ष्टीच्युट, न्युरल एजुकेसन र ब्रिलियन्ट एजुकेशनको नाममा विदेश पठाउने भन्दै लाखौँ रकम ठगी गर्ने काम त्यहीँबाट भइरहेको उनले बताए ।
दर्ता नभएका इन्स्टिच्युटको नाममा असुली :
धरान उपमहानगरपालिका शिक्षा महाशाखामा प्रमुख गणेश खतिवडाका अनुसार उक्त ३ वटै कम्पनी धरान उपमहानगरपालिका शिक्षा महाशाखामा दर्ता छैन । अवैध रूपमा चलिरहेका शैक्षिक परामर्श कम्पनीहरूको उपमहानगरपालिकाले अनुगमन नगरेकाले विद्यार्थीहरू ठग्ने धन्धा खुला रूपमा चलिरहेको छ ।
प्रोटोकल इन्स्टिच्युट रहेकै कोठामा चलेको न्युरल एजुकेशनको नाममा साउथ कोरिया, जापान पठाउने भनी विद्यार्थी भर्ना गरिएको छ । जापनिज कक्षा लिइरहेका प्रदीपले भने ‘बिद्यार्थीहरुलाई जापान कोरिया पठाउने भन्दै पैसा लिएर पनि विदेश पठाएको छैन ।’
धनकुटाबाट जापनिज भाषा पढ्न आएका प्रदीपसँग इन्स्टिच्युटले जापान पठाउने भनी २०८० असोज १८ गते ३ लाख रकम असुल गरिएको थियो । उनले भने 'तर अहिले सम्म जापान पठाएको छैन ।’
त्यहाँका मुख्य सञ्चालक जुगल चौधरीले उनीसँग जापान पठाउने भनी १० लाख माग गरेका थिए । उक्त रकम दिन प्रदीपले ७ लाख रुपैयाँ ऋण काढेर ल्याएको बताए । तर जुगलले नै सिओईको म्याद हुने भएकाले अहिले ३ लाख रकम मात्र बुझाई राख्न भने ।
विदेश नपठाउने पैसा पनि फिर्ता नगर्ने :
उनले भने ‘३ लाख रकम बुझेको तर हाल सम्म जापान नपठाएको र रकम फिर्ता समेत गरेको छैन ।’ प्रदीपले रकम फिर्ता माग्दा २० दिन पछि दिन्छु भन्दै १ वर्ष बितिसकेको बताउँदै भने ‘चौधरी कहिलेपनि अफिसमा नबस्ने म्यानेजिङ डाइरेक्टर स्मारिका चौधरीले मात्र डिल गर्ने गरेकी छिन ।’
सञ्चालक चौधरीले ‘मेरो ठुलै लिङ्क छ, भन्दै जापान गएपछि मात्र बाँकी रकम दिँदा पनि हुन्छ’ भनी रकम लिएको प्रदीपको भनाई छ । 
धरान-१९ की निकिता राईले डकुमेन्ट बुझाउँदा ३५ हजार दिएको बताइन् । उनले भने ‘अहिले सम्म रकम फिर्ता तँ के ओरजिनल डकुमेन्ट समेत दिएको छैन ।’ समीर लिम्बुले पनि जापनिज भाषाको कक्षामा भर्ना हुँदा लिँदा सोही कन्सल्टेन्सीले फोन र सीमकार्ड राखेको र हाल सम्म फिर्ता नदिएको बताए ।
बिष्णु विश्वकर्माले ५० हजार रकम दिएको तर हाल सम्म रकम फिर्ता नगरेको बताए । त्यहाँ जापनिज भाषा पढाउने भाषा प्रशिक्षक दीपक अधिकारीको ६ महिनाको तलब हाल सम्म नदिएको बताए । उनले भने ‘तलब माग्दा १५ दिन पर्खनु दिई हाल्छु भने पनि अहिले सम्म दिइएको छैन ।’ 
सञ्चालक जुगल चौधरीलाई फोन सम्पर्क गर्दा उनले फोन उठाएनन् । म्यानेजिङ डाइरेक्टर स्मारिका चौधरीले कन्सल्टेन्सी उपमहानगरपालिका दर्ता भएको दाबी गरिन् । कुनै पनि विद्यार्थीको रकम ठगी नगरेको उनको भनाई छ ।
विद्यार्थी बिचैमा भाग्ने भएकाले उनीहरूको मोबाइल फोन र सिम धरौटीको रूपमा राख्ने गरेको बताइन । इन्स्टिच्युटको लगानी असुल गर्न विद्यार्थीहरूमा त्यसो गर्नु परेको उनको भनाई छ ।
धरानका ४ वटा कन्सल्टेन्सी मात्र दर्ता :
धरान उपमहानगरपालिकाको शिक्षा महाशाखामा ४ वटा कन्सल्टेन्सी दर्ता छन् । शिक्षा महाशाखामा प्रमुख खतिवडाका अनुसार उपमहानगरपालिका राजश्व शाखामा प्रोटोकल ईन्ष्टीच्युट संस्था दर्ता रहेपनि शिक्षा महाशाखामा दर्ता रहेको छैन ।
उनले भने ‘प्रदेश र केन्द्रबाटै अनुमति प्राप्त एजुकेसन कन्सल्टेन्सी छ भने पनि अव नयाँ नियमावली अनुसार उपमहानगरपालिकामा सूचीकृत हुनुपर्छ ।’ विद्यालय बाहेक विविध शैक्षिक कार्यक्रम सञ्चालन अनुमति तथा नियमन निर्देशिका २०८० अनुसार एजुकेसन कन्सल्टेन्सीलाई दर्ता नभई चलाउन नपाउने उनले बताए ।
उपमहानगरपालिकाले ३ महिना भित्रमा स्वीकृति लिन र सूचीकृत हुन सूचना सार्वजनिक जारी गरेको छ । हाल सम्म ३ वटा दर्ता र १ सुचीकृत भएका छन् । दर्ता भएका कन्सल्टेन्सीमा स्टार वर्ल्ड एकेडेमी धरान १२, प्राइम एजुकेसन धरान-१, करियर टेक एजुकेसन धरान-२ छन् । एक्सपर्ट एजुकेसन कन्सल्टेन्सीले संस्था सूचीकृत गरेको छ ।
खतिवडाले भने ‘व्यवसाय दर्ताले मात्र हुँदैन, स्वीकृति नै लिनुपर्छ ।’ धरानमा थुप्रै कन्सल्टेन्सी भए पनि सूचीकृत हुन नआएपछि जहाँ हो त्यही पत्र पठाइएको र पत्र बुझेको ७ दिन भित्र नआए कारबाही गरिने उनले बताए ।