धरान : तिहारको निहुँमा ट्राफिक व्यस्त रहने सार्वजनिक स्थल भानुचोक एरियाको ट्याक्सी स्टेण्डमा धरान वडा २ का वडाध्यक्ष रमेश राईलेले कानुनमा प्रतिबन्धित खेल हाउजी, सङ्गीत कार्यक्रम सहित मनोरञ्जनात्मक कार्यक्रम भनी मेला सञ्चालन गराएका छन् ।
वडाध्यक्ष राईले उपमहानगरपालिकाबाट अनुमति नलिई मेला सञ्चालन गर्ने आफै अनुमति दिएका हुन । आफै स्थानीय सरकारको कानुन कार्यान्वयन गर्ने जिम्मेवार रहेका उनले मेला लगाउने स्वीकृति दिँदा उपमहानगरपालिका सँग समन्वय, सहमति लिएका छैनन् ।
उनले मेला लगाउन ‘भानु क्लब बजार व्यवस्थापन समिति’ नामक संस्थालाई अनुमति दिएका हुन । वडाध्यक्ष राईले ‘शुभ दीपावली तथा छठ पर्वको अवसरमा कात्तिक १५ देखि २२ गते सम्म ५ दिन सङ्गीत कार्यक्रम सहित मनोरञ्जन गराउन हाउजी सञ्चालनको अनुमति पत्र दिएका छन् ।
धरान उपमहानगरपालिकाका कार्यवाहक प्रमुख अईन्द्र विक्रम बेघासँग फोन सम्पर्क गर्दा उनले भने ‘उपमहानगरपालिकाले मेला सञ्चालन अनुमति दिएको छैन ।’ मेलाको विषयमा उपमहानगरपालिका जानकार नभएको बताउँदै भने ‘उपमहानगरपालिकाले मेला लगाउन अनुमति नदिई मेला सञ्चालन गर्न पाउने छैन ।’
सुनसरी जिल्ला प्रशासन सहायक प्रमुख बेदराज फुयाँलले भने ‘अनुमति नलिई सञ्चालन गर्ने मेलालाई सञ्चालन हुन दिन्नौँ, तुरुन्त रोक्छौँ ।’
वडाले मेला सञ्चालन गर्न अनुमति दिए अनुसार सङ्गीत कार्यक्रम सहित मनोरञ्जन गराउन हाउजी सञ्चालन गर्ने भानु क्लबका सचिव रोशन केसीले बताए । उनले भने ‘आजबाट सङ्गीत कार्यक्रम सहित मनोरञ्जन गराउन हाउजीको सम्पूर्ण तयारी पुरा भैसकेको छ ।’
उपमहानगरपालिकाको आर्थिक ऐन २०८१ अनुसार वडा कार्यालयले मेला उत्सव लगाउने अनुमति दिन मिल्दैन । ऐनको दफा २३ मा अनुमति लिनु पर्ने स्पष्ट व्यवस्था छ ।
ऐनको दफा २३ मा ‘धरान उपमहानगरपालिकाको राजस्व परिचालन ऐन, २०७७ को दफा १३ बमोजिम उपमहानगरपालिका क्षेत्रभित्र रहेका स्वीकृत चलचित्र घर, सांस्कृतिक प्रदर्शन हल, थिएटर, सङ्गीत स्थल, नाटक घर, फनपार्क, बाल उद्यान, वाटर पार्क, दोहोरी साँझ, जुम्बा, डान्सबार, हाटबजार, मेला, जिपलाईन, मनोरञ्जन प्रदर्शन स्थल, जादु, सर्कस, चटकजस्ता व्यवसाय वा कार्यक्रम सञ्चालन गर्नु पूर्व नगर कार्यपालिकाको कार्यालयबाट अनुमति लिनु पर्नेछ भनिएको छ ।
ऐनको व्यवस्था अनुसार धरान २ का अध्यक्ष राईले भानुचोकमा मेला लगाउन दिएको अनुमति ऐनको उल्लङ्घन हो । यसबारे वडाध्यक्ष राईसँग सम्पर्क गर्दा सामाजिक काम गरिरहेको संस्था भएकाले अनुमति दिएको बताए ।
उनले वडा पनि सरकार भएकोले मेला लगाउने अनुमति दिन सक्ने दाबी गरे । उनले भने ‘व्यवहारिक रूपमा नगरको हितका लागि गरिएको काम हो, मृत सहर नहोस् भन्ने उद्देश्य हो ।’ उपप्रमुख अइन्द्र विक्रम बेघाले अनुमति दिन नसक्ने जवाफ दिएको बताउँदै वडाध्यक्ष राईले प्रशासनलाई शान्ति सुरक्षाका लागि जानकारी गराइएको बताए ।