धरान : महाकवि लक्ष्मीप्रसाद देवकोटोका स्मृतिमा नेपालमा स्थापना भएको पहिलो संस्था धरान स्थित लक्ष्मी वाचनालयले बिहीबार ११६ औँ लक्ष्मी जयन्ती मनाएको छ ।

धरान-१ लक्ष्मी चौक स्थित लक्ष्मी वाचनालय २०१६ सालमा स्थापना भएको हो । आफ्नै भवनमा सञ्चालन हुँदै आएको वाचनालयले लक्ष्मी जयन्तीको अवसरमा वार्षिक ‘लक्ष्मी सडकका कविता’ सङ्ग्रह प्रकाशन गर्दै आएको छ ।

यसपालि भने ३ जना श्रष्टालाई सम्मान, कविता वाचन र महाकविको जीवन तथा साहित्यको परिचर्चा गर्दै लक्ष्मी जयन्ती मनाइएको हो ।

वाचनालयले संस्थाका पूर्व अध्यक्ष तथा ‘लक्ष्मी सडकका कविता’ संग्रेसको शुरुआत गरेका मदन ढकाल, पूर्व प्रदेश प्रमुख तथा अङ्ग्रेजी साहित्यका प्राध्यापक डा. गोविन्दबहादुर तुम्बाहाङ र वाचनालयलाई अक्षयकोष स्थापनाका लागि १ लाख रुपैयाँ प्रदान गरेका दाता रवीन्द्रनाथ बास्तोलालाई सम्मानित गरेको छ ।

कार्यक्रममा महाकविको सम्झना स्वरूप युवाकविहरु सन्तोष थेवे, सुदिप पाख्रिन, हिक्मत खड्का, इन्दु योञ्जन, प्रफुल्ल भण्डारी, अम्बिका शाक्य लगायत १५ कविहरूले रचना वाचन गरेका थिए ।

प्रमुख अतिथि नेपाली भाषा शास्त्री प्राडा.टङ्कप्रसाद न्यौपाने थिए । डा. महानन्द तिम्सिनाले वर्तमान सन्दर्भमा महाकवि देवकोटाको जीवन र उनका कृतित्वलाई  विवेचना गरेका थिए । अग्रज कवि बम देवान, प्राडा गोविन्द तुम्बाहाङले महाकविका बारेमा आफ्ना धारणा राखेका थिए ।

वाचनालयका पूर्व अध्यक्ष मदन ढकालले वाचनालयले नियमित प्रकाशन गर्दै आएको ‘लक्ष्मी सडकका कविता’ लाई निरन्तरता दिनु पर्नेमा जोड दिए ।

वाचनालयका सभापति पुष्पराज ढकालको सभापतित्वमा भएको कार्यक्रम डा. भवानी शङ्कर भट्टराईले सञ्चालन गरेका थिए । यसअघि लक्ष्मी चौक स्थित महाकवि देवकोटाको शालिकमा साहित्यकारहरूले माल्यार्पण गरी शोभायात्राको रूपमा कार्यक्रम स्थल वाचनालय भवमा पुगेको थियो ।

laxmi bachanalaya 2