धरान : वीपी प्रतिष्ठानमा ३० वर्ष अघि पढेका देखी पछिल्लो समयका पूर्व विद्यार्थीहरूको वृहत् भेला हुने भएको छ ।

प्रतिष्ठान स्थापना भएको पनि ३० वर्ष भएको बेला हुने पूर्व विद्यार्थी भेलाको संयोगमा त्यस बेलाको वीपी र अहिलेको वीपीको अवस्थाका बारेमा अर्थपूर्ण छलफल हुन बताइएको छ ।

पूर्व विद्यार्थी सङ्घका महासचिव वीपीका एडिसनल प्रोफेसर डा. विकास साहले भेला कात्तिक २५ गते  प्रतिष्ठान परिसरमा आयोजना गरिने बताए । उनले भने ‘पूर्व विद्यार्थीहरूको सम्मेलनमा प्रतिष्ठानको  विकासको समीक्षा यसको प्रवर्द्धनका साथै अनुभव आदान प्रदान गरिने छ ।’

सम्मेलनले पूर्व विद्यार्थी सङ्घ गठन गर्ने उनले बताए । भेलामा नेपालको चिकित्सा क्षेत्रको विकास, अध्ययन अनुसन्धानको विषयमा छलफल हुनेछ । प्रतिष्ठानका चिकित्सकहरूको समस्याका बारे छलफल हुनेछ ।

भेलामा विदेशका विश्वविद्यालय छात्रवृत्तिबाट अध्ययन तथा अनुसन्धान गर्न जाने चिकित्सकहरूलाई त्यहाँ अध्ययन गरिसकेका पूर्व विद्यार्थीहरूले सहजीकरण गर्ने महासचिव डा.साहले बताए ।

भारतको एम्स मेडिकल कलेजको अवधारणामा नेपालमा चिकित्सा शिक्षा अध्ययन, अनुसन्धान तथा  विशेषज्ञ उपचारका लागि प्रतिष्ठानको स्थापना भएको थियो ।

हाल नेपालका दुई प्रतिष्ठानको नेतृत्व गरिरहेका प्रतिष्ठानका दुई पूर्व विद्यार्थी भेलामा सहभागी हुनेछन् । प्रतिष्ठानका पूर्व विद्यार्थी डा.मङ्गल रावल कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको उपकुलपति छन् । मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठानमा डा.अङ्कुर शाह उपकुलपति छन् ।

वीपीका पूर्व विद्यार्थी कर्णालीका शिक्षाध्यक्ष डा. डवल राज धामी, निर्देशक डा. पूजन रोकाया, राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानका रजिष्टार प्राध्यापक श्याम लम्साल, मेडिकल  काउन्सिलका रजिस्ट्रार डा. सितस देव भेलामा सहभागी हुनेछन् ।