धरान : हिन्द महासागर स्थित टापु देश मेडागास्करको समुन्द्री किनारमा आइतबार एक नाउ पल्टँदा २४ जनाको मृत्यु भएको छ ।

मृत्यु भएकामा युवा सोमालियन नागरिकहरू भएको सोमालियाको विदेश मन्त्रालयले पुष्टि गरेको छ ।

नाउमा ७० जना थिए । अफ्रिकी मुलुक सोमालियाबाट उनीहरू अवसरको खोजीमा विदेशीन जोखिमपूर्ण समुद्री यात्रामा निस्किएको समाचार एजेन्सीहरूले उल्लेख गरेको छन् ।

उनीहरूको गन्तव्य कहाँ थियो त्यो खुलेको छैन । अधिकांश अफ्रिकी मुलुकका युवाहरू अवसरको खोजीमा जोखिमपूर्ण तरिकाले युरोप तर्फ जाने गरेका छन् ।

संयुक्त राष्ट्रसङ्घीय आप्रवासन निकायले जनाए अनुसार अफ्रिकी देशहरूबाट युवाहरू गैरकानुनी रूपमा बिदेसिने सङ्ख्या बढेको छ । खडेरीले भोकमारीका स्थिति रहेको, रोजगारीका अवसर नपाउँदा बिदेसिने युवाहरूको सङ्ख्या बढेको हो ।

गएको अप्रिलमा मात्र अर्को अफ्रिकी देश जिबुती नजिकको समुद्री मार्गमा दुर्घटना हुँदा ३८ जनाको मृत्यु भएको थियो । मृत्यु हुनेमा सोमालिया र इथोपियाली युवाहरू थिए ।

पश्चिममा इथियोपिया र उत्तर पश्चिममा जिबुतीको छिमेकी रहेको हिन्द महासागर स्थित टापु देश सोमालिया विश्वमा सबैभन्दा बढी भ्रष्टाचार हुने मुलुकको रूपमा चिनिन्छ ।

ट्रान्सपरेन्सी इन्टरनेशनलले गत वर्ष जारी गरेको प्रतिवेदनमा भ्रष्टाचारको सूचकाङ्कमा सबैभन्दा अगाडि रहेको सार्वजनिक गरेको थियो ।