वराहक्षेत्र : सुनसरीको वराहक्षेत्र नगरपालिकाले सेवा निवृत्त भएका ३२ जना महिला सामुदायिक स्वास्थ्य स्वयंसेविकालाई सम्मान सहित बिदाइ गरेको छ ।
बिहीबार राष्ट्रिय महिला सामुदायिक स्वास्थ्य स्वयंसेविको दिवस अवसरमा नगरपालिकाले स्वयंसेविकाको रूपमा सेवा पुर्याएका ३२ जनालाई नगद ३० हजार सहित सम्मान पत्र, मायाको चिनो र दोसल्ला ओढाएर सम्मान गरिएको नगरपालिकाका स्वास्थ्य शाखाका जनस्वास्थ्य निरीक्षक उमेश मेहताले जानकारी दिए ।
सम्मानित हुनेहरूमा दुर्गादेवी बुढाथोकी, इन्दिरा सापकोटा, खड्गमाया मगर, तारा भुजेल, गीता कट्टेल, लग्नी चौधरी, भालुन चौधरी, गीता चौधरी, उर्मिला पौडेल, राधिका अधिकारी, लक्ष्मी ढुङ्गेल, रत्न माया माझी त्यस्तै जमुना थापा, नन्दकुमारी सुनुवार, कृष्ण कुमारी भण्डारी, मायादेवी अधिकारी, शोभा कुमारी धामी, मिथिला ढुङ्गाना, अम्बिका खड्का, देवी नेपाल, गीता मण्डल, प्रमीला कबिरथ, मनदेवी खड्का त्यस्तै इन्दिरा सिग्देल, सबित्रा घिमिरे, जानुका कार्की, निरा पोखरेल, जैवन खा, जुग्नी देवी भगत, मालती देवी साह, सबिना देवी बहरार र बुधनी खत्वेनी रहेका छन् ।
सम्मानित स्वास्थ्य सेवामा महिला स्वास्थ्य स्वयंसेविकाहरूलाई प्रमुख अतिथि पूर्व मन्त्री तथा प्रतिनिधि सभा सदस्य ज्ञानेन्द्र बहादुर कार्की, नगर प्रमुख रमेश कार्की, उप-प्रमुख नन्द कुमारी सुनुवार, प्रमुख प्रशासकीय अधिकृत गणेश बहादुर कटुवाल लगायतले सम्मान गरेका थिए । सम्मानसँगै नयाँ नियुक्त भएका ३५ जना महिला स्वास्थ्य स्वयंसेविकाहरूलाई स्वागत समेत गरिएको थियो ।
सेवा निवृत्त महिला स्वयंसेविकालाई सम्मान कार्यक्रमकै अवसरमा नेपाली काङ्ग्रेसका नेता, पूर्वमन्त्री कार्कीले वराहक्षेत्र नगर अस्पताललाई २० लाख बराबरको स्वास्थ्य सामाग्री तथा उपकरण हस्तान्तरण गरेका छन् ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयबाट प्राप्त एक थान, भिडियो एक्स-रे मेसिन, ग्यास सिलिन्डर ४ थान, ह्विलचियर २ थान लगायतका सामाग्री अस्पतालका निमित्त व्यवस्थापक दिवस विष्टलाई हस्तान्तरण गरेका थिए ।
कार्यक्रममा बोल्दै पूर्व मन्त्री कार्कीले महिला स्वास्थ्य स्वयंसेविकाले गरेको कामको चर्चा गरेका थिए । मातृ तथा बाल मृत्यु दर घटाउने कार्यमा महिला स्वास्थ्य स्वयंसेविकाले उल्लेखनीय भूमिका निर्वाह गरेको बताउदैं उनले भने उहाँहरूको मुल्याकन र सम्मानका लागि सरकारले योजना बनाउनु पर्ने बताए ।
नगर अस्पतालको विकास र सेवा सुविधाका लागि लागिपर्ने बताउँदै कार्कीले भने स्वास्थ्य संस्थाको विकासका योजना बनाएर काम गर्नेछु ।