धरान : ताप्लेजुङको मुक्कुमलुङ पाथीभरा क्षेत्रबाट प्रहरीले पक्राउ गरेका ३ जना आन्दोलनकारी भोली शनिवार सम्म विनाशर्त रिहा नगरिए आइतबार देखी अनिश्चितकालिन यातायात बन्द गरि हड्ताल गरिने मुक्कुमलुङ संरक्षण संयुक्त सङ्घर्ष समिति सहित ७ वटा सङ्घर्ष समितिले संयुक्त विज्ञप्ति जारी गरेका छन् ।
सरकारले केवलकारवालाहरुलाई सुरक्षा दिन राखिएको नाम्जाङ्गे तल्लो फेदी काफ्ले पाटी राखेको प्रहरी टोली फिर्ता गर्न पनि माग गरिएको छ । विज्ञप्तिमा सुरक्षाकर्मी राख्ने कदमको औपचारिक रूपमा विरोध गरी गृहमन्त्री र प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुन मन्त्री समक्ष पुस महिनाको शुरुमै दिइएको उल्लेख गरिएको छ ।
विरोध हुँदाहुँदै राखिएको प्रहरीले पुष १७ गते राती ९ बजे मुक्कुमलुङ संरक्षण अभियानमा गएको २६ जनालाई तल्लो फेदीमा रोकेर फिर्ता पठाएको, उनीहरूलाई लिन गएको ३ जना जनम लिम्बू, सुशिल लिम्बू र सञ्जोग लिम्बूलाई प्रहरीकै अगाडि ‘केवलकारवाला भिजिलान्तेहरु’ले कुटपिट गरेको र उल्टै कुटाई खानेहरूलाई प्रहरीले पक्राउ गरी जिल्ला प्रहरी कार्यालयमा ल्याएर राखेको जानकारी विज्ञप्तिमा दिइएको छ ।
विज्ञप्तिमा भनिएको छ ‘तल्लो फेदीमा सैनिकीकरण बन्द गर्न राज्यपक्षलाई पुष २० गते सम्म अल्टिमेटम दिन्छौँ । अन्यथा पुष २१ गते देखी मेची राजमार्ग, तमोर करिडोर सहित ताप्लेजुङ जिल्ला भित्र अनिश्चितकालिन यातायात बन्द सहितको कडा कदम चाल्नेछौँ भनी यही विज्ञप्ति मार्फत जानकारी दिन चाहन्छौँ ।’
विज्ञप्तिमा मुक्कुमलुङ संरक्षण संयुक्त सङ्घर्ष समिति, पाथीभरा केवलकार खारेजी संयुक्त सङ्घर्ष समिति, लिम्बू थरगत संस्था सहजीकरण समूह, किरात याक्थुङ चुम्लुङ तथा प्रदेश नं १ संयुक्त सङ्घर्ष समिति, किरात धर्म तथा साहित्य उत्थान सङ्घ, मुक्कुमलुङ ता.ङसेप फःसिङ चुम्भो, प्रदेश नं १ पूननामाङ्कन अभियान समितिका नेतृत्वकर्ताहरुले हस्ताक्षर गरेका छन् ।