धरान : पूर्वको प्रसिद्ध धार्मिक स्थल पाथीभरा मुक्कुमलुङ क्षेत्रको प्राकृतिक वातावरण संरक्षणका लागि केवलकारको विरोध गर्नेहरूलाई प्रहरीले व्यापक धरपकड गरिरहेको मुक्कुमलुङ संयुक्त सङ्घर्ष समितिले जनाएको छ ।

मुक्कुमलुङ संरक्षणमा लागेका ३ जना युवाहरूलाई बिहीबार राति ताप्लेजुङमा प्रहरीले विना कारण पक्राउ गरेको समितिले जानकारी दिएको छ ।

संयोजक श्री लिङंखिम लिम्बूका अनुसार पक्राउ पर्नेमा जनम इधिङगो लिम्बू, सन्जोग नुगो र सुसिल नुगो छन् । मुक्कुमलुङ माङको विशेष पूजा गर्न ईलामबाट आउँदै गरेका दर्शननार्थिहरुलाई स्वागत गर्ने क्रममा तीनजनालाई प्रहरीले पक्राउ गरेको उनले बताए ।

पक्राउ अघि उनीहरूलाई केवलकार पक्षधर केही युवाले उनीहरू माथि कुटपिट गरेको थियो । प्रहरीले कुटपिटमा संलग्न ती युवाहरूलाई भने पक्राउ गरेको छैन । विना कारण कुटाई खाने युवाहरूलाई भने पक्राउ गरेको संयोजक लिम्बूले बताए । पक्राउ गरिएका युवाहरूलाई जिल्ला प्रहरी कार्यालय ताप्लेजुङमा राखिएको छ ।

ताप्लेजुङमा लिम्बूहरूले पाथीभरालाई मुक्कुमलुङ नामाकरण गर्न माग गर्दै संरक्षणका लागि सङ्घर्ष चलिरहेको छ । पछिल्लो पटक सरकारले मुक्कुमलुङ क्षेत्रमा केवलकार बनाउने घोषणा गरेसँगै आन्दोलन चर्किएको हो ।

केवलकार निर्माण योजना लागु गर्न सरकारले गतः पुस १५ गते तल्लो फेदीमा सशस्त्र प्रहरीको क्याम्प स्थापना गरेको छ । करिब २ महिना अघि जनपथ प्रहरी कार्यालय पनि राखेको छ ।

मुक्कुमलुङ क्षेत्रको संरक्षणको माग गदै आएका समूह माथि कार्तिक २३ गते केवलकार पक्षधरले आक्रमण गर्दा चन्द्र मादेन र मुक्कुलुङ क्षेत्रमा भारी बोक्दै आएका अर्जुन लिम्बू घाइते भएका छन् । उनीहरू लामो उपचार पछि स्वास्थ्यमा सुधार आए पनि अर्जुन लिम्बुको स्वास्थ्य पुरा सुधार भने आएको छैन ।

शान्तिपूर्ण विरोधका क्रममा आक्रमण गर्नेहरूको विरुद्धमा पटक पटक किटानी जाहेरी दिए पनि जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले नलिए पछि ईलाम उच्च अदालतमा रिट दायर गरेको सङ्घर्ष समितिले जानकारी दिएको छ ।

मङ्सिर १६ गते उच्च अदालतले कारण देखाउ आदेश जारी गरे पनि त्यसको सुनुवाइ नभएकोमा सङ्घर्ष समितिले आपत्ति जनाएको छ ।