धरान : धरान १० के रनको १३औँ संस्करण यसपालि विश्वभर भर्चुअल दौड सहित फागुन १० गते आयोजना गरिने भएको छ ।

भर्चुअल रनमा विश्वका जुनसुकै ठाउँका धावक धावीकाले सहभागी हुन पाउने धरान रनका अध्यक्ष रामु राईले आज मङ्गलवार आयोजित पत्रकार सम्मेलनमा बताए । धरान रनद्वारा नेवा च्यारिटि १० के रन आयोजना गर्दै आएको छ ।

दौडमा चर्चित/लोकप्रिय गायक राजु लामा धावकको रूपमा सहभागी हुनेछन् । रनलाई  खेलकुदमय र चेतनामूलक बनाउन ब्हीलचेयर रेस समेत हुने अध्यक्ष राईले जानकारी दिए ।

१३औँ संस्करणमा १६ वर्ष देखि ३९ वर्ष समूहलाई खुल्ला दौड समूहमा समावेश गरिएको छ । प्रतियोगितामा राष्ट्रिय अन्तर्राष्ट्रिय धावक धाविकाहरू सहभागी हुनेछन् ।

प्रतियोगितामा दौडको ठिक समय मापन गर्न ‘चिप टाइमिङ’ सिस्टम प्रयोग गरिने छ । नेपालमा धरान रनले ११ औँ संस्करण देखि प्रयोग गर्न थालेको उनको भनाई छ ।

१० किलोमिटर दौडको रुट यसपालि पुतली लाइन देखि दौड सुरु गरी देशीलाईन, पुरानो बजार, पिण्डेश्वरी मन्दिर, विजयपुर चोक, हात्तीसार क्याम्पस, रेडक्रस भवन अमरहाट कभर्डहल हुँदै जिरो प्वाईन्ट, जानकी चोक, रङ्गशाला हुँदै गणेशमान चौक, पानी टङ्की, कल्याण चौक, मङ्गलवारे, रत्न चोक, बुद्ध चोक, दुर्गा चोक हुँदै पुन पुतलीलाईन भानुचौक हुनेछ ।

प्रतियोगितामा १६ वर्ष माथिका ३९ वर्ष सम्म खुल्ला दौडका विजेताले जनही नगद ६० हजार, दोस्रोले ४० हजार र तेस्रोले २० हजार, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् ।

१२ वर्ष देखि १५ वर्ष भित्रका ‘अन्डर १६’ समूहका,४९ वर्ष देखि ५९ वर्ष सम्मको ‘मिड भेट्रान’समूहका,   महिला पुरुष विजेताले जनही नगद ७ हजार, ५ हजार, ३ हजार, मेडल र प्रमाणपत्र पाउने छ ।

४० वर्ष देखि ४९ वर्ष सम्मको ‘भेट्रान’ समूहका महिला पुरुष विजेताले जनही नगद १० हजार, ७  हजार, ५ हजार, मेडल र प्रमाणपत्र पाउने छ ।

६० वर्ष देखि माथिका ‘सुपर  भेट्रान’ समूहका महिला पुरुष विजेताले नगद ५ हजार, मेडल र प्रमाणपत्र पाउने भएका छन् ।

बाह्रौँ धरान रनमा गत वर्ष करिब ४ हजार धावक, धाविकाहरूले सहभागी थिए । धरान रन समूह २०६७ मा स्थापना भई २०६८ सालमा दर्ता भएको हो । रनले हरेक शनिवार यलम्वर पार्कमामा ३ कि.मि. दौड गराउँदै आएको छ ।