धरान : धरान उपमहानगरपालिका शिक्षा महाशाखाले आफैले बनाएको नियमावली उल्लङ्घन गर्दै एकबाट अर्को स्कुलमा शिक्षक सरुवा गर्दै आएको खुलासा भएको छ ।
धरान-२० विष्णुपादुका स्थित भालढुङ्गा माध्यमिक विद्यालयमा डेढ वर्ष अघि मात्र सरुवा भएर आएकी शिक्षिका कृष्णकला लिम्बूलाई धरान-११ को ज्ञानोदय माविमा मङ्सिर २६ गते सरुवा दिइएको छ । ज्ञानोदय माविका शिक्षकहरूले भने यसरी सरुवा गर्दा उनीहरूको वृत्ति विकासमा असर पर्ने भन्दै असन्तुष्टि जनाएको व्यवस्थापन समिति सदस्य कला राईले बताएकी छिन् ।
ज्ञानोदयमा नै पुनः भालढुङ्गाकै प्रावि तहकी अर्की शिक्षिका कविता राईलाई पनि सरुवा गर्ने प्रक्रिया सुरु गरिएको थाहा भएपछि असन्तुष्टि झन् बढेको उनले बताइन ।
सरुवा नियमावली विपरीत
धरान उपमहानगरपालिका शिक्षा नियमावली २०७४ को दफा ५७ को उपदफा १,२,३,४ अनुसार एक पटक सरुवा भएका शिक्षकले त्यस विद्यालयमा साधरणतया अर्को पटक सरुवा लिन चाहे ४ वर्ष पुगेपछि मात्र सरुवा लिने प्रावधान रहेको छ ।
नगरपालिका भित्र एकअर्को विद्यालयमा तह तथा विषय मिल्ने दरबन्दी भित्र सरुवा गर्दा प्रमुख प्रशासकीय अधिकृतले सरुवा गर्न सक्ने व्यवस्था छ भने शिक्षक सरुवा प्रत्येक शैक्षिक सत्रको पहिलो महिनामा मात्र गरिने व्यवस्था छ ।
शिक्षा मन्त्रालयको शिक्षक सरुवा सम्बन्धी निर्देशिका २०८१ परिच्छेद ३ को दफा ९ को उपदफा १ अनुसार शिक्षक सरुवा गर्दा स्थानीय तहले दफा ९ बमोजिम १५ दिन भित्र सम्म वेबसाइट वा सूचना पार्टी र विद्यालयमा सूचना प्रकाशन गर्नुपर्ने छ ।
सरुवा अनुमति दिँदा उपमहानगरपालिकाकै ४ वर्ष पुगेपछि मात्र सरुवा लिने प्रावधानको ठाडो उल्लङ्घन गरिएको छ । नियमावली अनुसार सूचना पार्टीमा सूचना टाँस गर्नुपर्ने नियम रहे पनि स्कुल र शिक्षा महाशाखाले कुनै पनि प्रक्रिया नअपनाई गुपचुपमा गरिएको ज्ञानोदयकी व्यवस्थापन समिति सदस्य राईको आरोप छ ।
शिक्षा महाशाखा प्रमुखको मनोमानी
नियम विपरीत शिक्षक सरुवा गर्ने कार्य धरान उपमहानगरपालिका शिक्षा महाशाखाको मनोमानीले मुख्य भूमिका खेलेको व्यवस्थापन सदस्य राईले आरोप लगाएकी छिन् । उनका अनुसार शिक्षा महाशाखा प्रमुख गणेशप्रसाद खतिवडा र शिक्षा समितिका सदस्य धरान-११ का वडाध्यक्ष लोकेन्द्र फागोको मिलेमतोमा सरुवाको प्रक्रिया भएको हो ।
शिक्षा महाशाखाका प्रमुख खतिवडाले शिक्षक सरुवा अनुमति प्रमुख प्रशासकीय अधिकृतले मात्र गर्ने नियमावलीको प्रावधानलाई ठाडो उल्लङ्घन गर्दै प्रशासकीय अधिकृत नभएका बेला सरुवा अनुमति दिएको उनले आरोप लगाइन् ।
प्रमुख प्रशासकीय अधिकृत भूपेन्द्र राई मङ्सिर १६ गते सरुवा लिएर गएका थिए । अर्का प्रशासकीय अधिकृत अम्बिका चौलागाई पुस ३ गते उपमहानगरपालिका हाजिर भएका थिए । दुवै प्रशासकीय अधिकृत नभएको बेला महाशाखा प्रमुख खतिवडाले मङ्सिर २६ गते शिक्षिका लिम्बूलाई सरुवाको स्वीकृति दिएका हुन । भालढुङ्गाका प्रधानाध्यापक सुरेन्द्र अधिकारीले मङ्सिर २७ गते रमना दिएका छन् ।
नगर प्रमुख हर्क साम्पाङको आदेशमा सरुवा
नियम विपरीत शिक्षक सरुवा गरिएको बारे शिक्षा महाशाखा प्रमुख गणेशप्रसाद खतिवडासँग सम्पर्क गर्दा उनले शिक्षक सरुवा नगर प्रमुख हर्क साम्पाङको निर्णयको आधारमा भएको बताए ।
उनले भने ‘शिक्षक सरुवा मेयर साबको निर्णय अनुसार भएको हो ।’ उनले धरान उपमहानगरपालिकाको शिक्षा नियमावली नै नबनेको बताए । तर उपमहानगरपालिकाको वेबसाइटमा भने शिक्षा नियमावली राखिएको छ । उक्त नियमावली २०७४ सालमा बनेको हो ।
उपमहानगरपालिकाले अधिकांश पुरानै नियमावलीहरू अनुसार कार्य गर्दै आएको छ । उक्त शिक्षा नियमावलीमा संसोधन गरेको छैन ।
शिक्षा समिति सदस्यको नातेदार भएकोले
सरुवा भएकी शिक्षिका लिम्बू शिक्षा समिति सदस्य धरान-११ का वडाध्यक्ष लोकेन्द्र फागोको साइनोमा छोरी हुन । अर्की शिक्षिका राई फागोका ज्वाइँ ज्ञानोदयका शिक्षक रिद्धि कुमार राईको भाउजू भएको व्यवस्थापन समिति सदस्य राईले बताइन् ।
आफ्ना नातेदारलाई पायक पर्ने सुगम ठाउँमा सरुवा गराउन वडाध्यक्ष फागोले विद्यालयमा व्यवस्थापन समिति खारेज समेत गराएको आरोप राईले लगाइन् । फागो ज्ञानोदय स्कुलका व्यवस्थापन समितिका पूर्व अध्यक्ष पनि हुन । यस विवादका बारेमा वडाध्यक्ष फागोको भनाई लिनु फोन सम्पर्क गर्दा ‘अहिले मलाई फुर्सद छैन भरै फोन गर्छु ।’ भनेर फोन काटिदिए । उनले पुनः फोन भने गरेनन् ।