धरान : रजत उत्सवको रूपमा आयोजना हुने अन्तर्राष्ट्रिय आमन्त्रण बुढासुब्बा गोल्डकप फुटबल प्रतियोगिताको २५औँ संस्करण धरान रङ्गशालामा शनिवार देखी सुरु हुदैछ ।

गोल्डकपको उद्घाटन खेल लिग च्याम्पियन चर्च ब्वाईज क्लव र नेपाल पुलिस बिच हुने आज बिहीबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइएको छ ।

लिग च्याम्पियन चर्च ब्वाईज क्लव धरान रङ्गशालामा दोस्रो पटक उत्रिने भएको हो भने नेपाल पुलिस २५औँ पटक धरान रङ्गशालामा उत्रिँदै छ । यस अघिका गोल्डकपमा रोमाञ्चक प्रतिस्पर्धा गर्दै ५औँ पटकको खेल विजेता समेत हो ।

धरान फुटबल क्लबद्वारा आयोजित गोल्डकपको सबै तयारी पुरा भएको अध्यक्ष प्रताप तामाङले बताए । २५ वर्ष अघि २०५५ देखी सुरु भएको बुढासुब्बा गोल्डकप फुटबल काठमाडौँ उपत्यका बाहिर पहिलो अन्तर्राष्ट्रिय आमन्त्रण प्रतियोगिता समेत हो ।

प्रतियोगिता धरान-१६ स्थित धरान रङ्गशालामा शनिवार माघ १९ देखी सुरु हुने गोल्डकप २६ गते सम्म सञ्चालन हुनेछ ।

२५औँ बुढासुब्बामा पहिलो पटक नयाँ टिमको रूपमा आरटीसि फुटबल क्लव भुटान सहभागी हुने बताइएको छ । सहभागी टिमहरूमा एनआरटी काठमाडौँ, लिग च्याम्पियन चर्च ब्वाईज, नेपाल पुलिस क्लव, राजा क्लव इटहरी, युकेएफसी भारत, केएफटीसि झापा, धरान फुटबल सहित आठ टिमले सहभागिता जनाउने भएको अध्यक्ष तामाङले बताए ।

सम्मेलनमा विजेताको १० लाख नगद पुरस्कार धरान बहराईन एकता समाज र धरान समाज युकेले प्रयोजन गर्ने अध्यक्ष तामाङले बताए ।

उपविजेतालाई प्रदान गरिने ५ लाख रुपैयाँ पोर्चुगल निवासी अर्जुन राईले प्रायोजन गर्ने भएका छन् । उत्कृष्ट खेलाडी नगद १ लाख पोर्चुगलका केन्द्र लिम्बूले प्रदान गर्ने भएका छन् भने प्रत्येक खेलका ७ जना म्यान अफ द म्याचलाई नगद १० हजार सहितको ट्रफी स्पोर्ट ब्रान्ड केलमीले प्रदान गर्ने साथै २५ औँ संस्करण देखी ५ वर्ष सम्मका लागि जर्सी लगायत सम्पूर्ण खेलकुद सामाग्री समेत पोर्ट ब्रान्ड केलमीले प्रदान गर्ने सम्झौता भएको अध्यक्ष तामाङले बताए  ।

प्रतियोगितामा निर्णायकहरू फिफा रेफ्री श्याम दनुवार, राष्ट्रिय रेफ्री मनिष अधिकारी, सहायक निर्णायकहरू प्रेम जिमी, महेश खड्का, किरण मगर, समयम बस्नेत रहेका छन् भने रेफ्री एसेसरमा बलिदान राई, सहायक रेफ्री एसेसरमा ईन्द्र थापा मगर र जेनेरल कोओर्डिनेटरमा जनक राई रहने भएका छन्।

आयोजक धरान फुटबल क्लबले मैदानमा पानी हालेर हरियो बनाउने, मैदान वरपर सरसफाइ तथा प्यारापिट मर्मत गर्ने कार्य बिहीबार अन्तिम चरणमा गरिरहेको थियो ।

मुख्य प्रायोजक टुबोर्ग बियरले, सहप्रयोजक रेडबुल र  सहप्रयोजक आइएमई बैङ्क, क्वालिटी नुडल्स विदेशी सङ्घ संस्था लगायत रहेका छन् ।

२४औँ गोल्डकपको विजेता एनआरटी क्लव काठमाडौँ, उपविजेता जिल्ला फुटबल सङ्घ मोरङ रहेको  थियो ।