धरान : यले संवत् ५०८५ को अवसरमा माघ २८ गते चौथो यलेदोङ ओपन महिला पुरुष थ्री वाई थ्री बास्केटबल प्रतियोगिता हुने भएको छ ।

माघ १ देखि नयाँ यलम्वर संवत्को नयाँ वर्ष शुरु भएकोमा किरात राई यायोक्खाले देशभर मनाई रहेको यले दोङ कार्यक्रम बिच किरात राई यायोक्खा सुनसरीको सहकार्यमा धरान बास्केटबल सङ्घको आयोजनामा प्रतियोगिता आयोजना गर्न लागेको हो ।

भानुचौकमा हुने खुल्ला प्रतियोगिताको संयोजन धरान उपमहानगरपालिका तथा सुनसरी बास्केटबल सङ्घको प्राविधिक सहयोग रहेको छ ।

विजेताले पुरुष तर्फ ३० हजार नगद, ट्रफि, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ । उपविजेताले नगद १५ हजार, महिला तर्फका विजेताले नगद २० हजार, उपविजेताले नगद १० हजार प्राप्त गर्नेछ ।

महिला पुरुष उत्कृष्ट खेलाडी मोस्ट भ्यालुएवल प्लेयर उपाधि विजेताले नगद पुरस्कार प्रदान गरिने छ ।

प्रतियोगितामा धरान र आसपासका तरहरा, इटहरी, झापा, मोरङ, धनकुटाबाट ४० टिमले सहभागिता जनाउने आयोजकले जनाएको छ ।