धरान : पूर्वाञ्चल इन्जिनियरिङ क्याम्पस धरानका विद्यार्थीहरूले नेपाली विद्यार्थी प्रकृति लम्सालको शङ्कास्पद मृत्युको निष्पक्ष छानबिनको माग गर्दै र मृतकको आत्माको चिर शान्तिको कामना गर्दै दीप प्रज्वलन गरेका छन् ।
भारतको ओडिसा राज्य स्थित (केआइआइटी कलेज) कलिंगा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजीमा बिटेक तेस्रो वर्षमा अध्ययनरत नेपाली विद्यार्थी लम्सालको २०२५ फेब्रुअरी १६मा शङ्कास्पद मृत्यु भएको थियो ।

क्याम्पस परिसरमा मङ्गलवार साँझ ६ बजे दीप प्रज्वलन गर्दै विद्यार्थीहरूले नेपाली चेली लम्सालको आत्माको चिर शान्तिको कामना गरेका हुन ।
पूर्वाञ्चल इन्जिनियरिङ क्याम्पसमा ईलेक्ट्रीकल तेस्रो वर्षमा अध्ययनरत विद्यार्थी रोशन कुमार शर्माले नेपाली चेली लम्सालको रहस्यमय घटनाले सम्पूर्ण नेपाली विद्यार्थीलाई स्तब्ध बनाएको बताए । उनले घटनाको चाँडोभन्दा चाँडो अनुसन्धानको माग गर्दै
विश्वविद्यालयमा अध्ययनरत अन्य नेपाली विद्यार्थीहरू समेत हिंसा, धम्कीको सिकार भइरहेको खबरले आफूहरूलाई गम्भीर बनाएको बताए ।
उनले घटनाको सत्य तथ्य बाहिर ल्याउन, दोषीहरूलाई कानुनी कारबाही गराउन र पीडितलाई न्याय दिलाउने प्रक्रियामा नेपाल सरकारले चाँडो प्रक्रिया सुरु गर्नुपर्ने बताए ।
विद्यार्थीहरूले दीप प्रज्वलन गर्दै परिवारजनप्रति गहिरो समवेदना व्यक्त गर्दै सम्पूर्ण नेपाली विद्यार्थीहरूको सुरक्षाका लागि वातावरण बनाउन आग्रह गरेका छन् ।