धरान : चर्चित गायक राजु लामा यसपालिको धरान १०के रनको १३औँ संस्करणमा ४ हजार धावक धाबिक सँगै दौडने भएका छन् ।

धरान रनद्वारा आयोजित नेवा च्यारिटि खुल्ला दौड प्रतियोगिता भोली फागुन १० गते शनिवार बिहान हुँदैछ । दौडमा चर्चित गायक राजु लामा धावकको रूपमा सहभागी हुने भएका हुन ।

आयोजक धरान रनद्वारा आज शुक्रवार पत्रकार सम्मेलनमा अध्यक्ष रामु राईले उक्त जानकारी दिएका हुन ।

विश्वभर एकै साथ हुने भर्चुअल दौडमा जुनसुकै ठाउँका धावक धाविकाले सहभागी हुन पाउने उनले बताए ।

यसपालि १६ देखि ३९ वर्षकालाई खुल्ला दौड समूहमा समावेश गरिएको प्रतियोगितामा राष्ट्रिय अन्तर्राष्ट्रिय धावक धाविकाहरू सहभागी हुनेछन् ।

प्रतियोगितामा दौडको ठिक समय मापन गर्न ‘चिप टाइमिङ’ सिस्टम प्रयोग गरिने छ ।

नेपालमा धरान रनले ११ औँ संस्करण देखि ‘चिप टाइमिङ’ सिस्टम प्रयोग गर्न थालेको उनले बताए ।

१० किलोमिटर दौडको रुट यसपालि पुतली लाइन देखि दौड सुरु गरी देशीलाईन, पुरानो बजार, पिण्डेश्वरी मन्दिर, विजयपुर चोक, हात्तीसार क्याम्पस, रेडक्रस भवन अमरहाट कभर्डहल हुँदै जिरो प्वाइन्ट, जानकी चोक, रङ्गशाला हुँदै गणेशमान चौक, पानी टङ्की, कल्याण चौक, मङ्गलवारे, रत्न चोक, बुद्ध चोक, दुर्गा चोक हुँदै पुन पुतली लाइन भानुचौक हुनेछ ।

प्रतियोगितामा १६ वर्ष माथिका ३९ वर्ष सम्म खुल्ला दौडका विजेताले जनही नगद ६० हजार, दोस्रोले ४० हजार र तेस्रोले २० हजार, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् ।

१२ वर्ष देखि १५ वर्ष भित्रका ‘अन्डर १६’समूहका, ४९ वर्ष देखि ५९ वर्ष सम्मको ‘मिड भेट्रान’समूहका, महिला पुरुष विजेताले जनही नगद ७ हजार, ५ हजार, ३ हजार, मेडल र प्रमाणपत्र पाउने छन्  ।

४० वर्ष देखि ४९ वर्ष सम्मको ‘भेट्रान’ समूहका महिला पुरुष विजेताले जनही नगद १० हजार, ७  हजार, ५ हजार, मेडल र प्रमाणपत्र पाउने छ ।

६० वर्ष देखि माथिका ‘सुपर भेट्रान’ समूहका महिला पुरुष विजेताले नगद ५ हजार, मेडल र प्रमाणपत्र पाउने भएका छन् ।

बाह्रौँ धरान रनमा गत वर्ष करिब ४ हजार धावक, धाविकाहरूले सहभागी थिए । धरान रन समूह २०६७ मा स्थापना भई २०६८ सालमा दर्ता भएको हो । रनले हरेक शनिवार यलम्वर पार्कमामा ३ कि.मि. दौड गराउँदै आएको छ ।