धरान : यसपालिको एसइई परीक्षामा सुनसरी जिल्लाबाट १३ हजार ६६३ जना परीक्षार्थी सहभागी हुने भएका छन् । परीक्षा पर्सी बिहीबार चैत ७ देखि १९ गते सम्म सञ्चालन हुँदैछ ।

परीक्षाका लागि सुनसरी जिल्लाका कुल ३२१ सामुदायिक र संस्थागत विद्यालयका कुल १३ हजार ६६३ जना परीक्षार्थीहरू सामेल हुने जिल्ला शिक्षा विकास समन्वय समिति प्रमुख खगेन्द्र सुवेदीले बताए ।

उनका अनुसार साधारण तर्फ १३ हजार २३३ जना र प्राविधिक धार तर्फ ४ सय ३० जना परीक्षार्थीहरू परीक्षामा सामेल हुनेछन् । उक्त सङ्ख्यामा ७०१४ छात्र, ६०४९ छात्रा परीक्षार्थी छन् ।

त्यस मध्ये नियमित तर्फ १२ हजार ९७५ जना छन् । पुराने ग्रेड वृत्ति तर्फ ११५ जना र नयाँ ग्रेड वृत्ति तर्फ ६८८ जना परीक्षार्थी छन् । धरानका १० वटा परीक्षा केन्द्रमा ३ हजार ६० जना एसइई परीक्षार्थीहरू रहेको बताइएको छ ।

विगतका एसइई परीक्षामा सैद्धान्तिक र प्रयोगात्मक दुवै जोडेर ३५ प्रतिशत अङ्क ल्याउनुपर्ने प्रावधान थियो । २०८० साल देखि विद्यार्थीले सैद्धान्तिकमा ३५ र प्रयोगात्मकमा ४० प्रतिशत अङ्क ल्याउनुपर्ने व्यवस्था रहेको परीक्षा नियन्त्रण कार्यालयले जनाएको छ ।

सुनसरीमा जिल्ला शिक्षा इकाईको तथ्याङ्क अनुसार एसइई परीक्षामा सहभागी ७ धार्मिक विद्यालय २ विशेष विद्यालय समेत कुल ११७ सामुदायिक विद्यालय छन् । संस्थागत २०४ समेत कुल विद्यालय सङ्ख्या ३२१ रहेका छन् ।

जिल्लाका १२ वटा स्थानीय तहमा ५० परीक्षा केन्द्र तोकिएको छ । धरानमा १०, इटहरीमा ११, ईनरुवामा ६, कोशी गापामा २, दुहवीमा ३, देवानगन्जमा १, वराहक्षेत्रमा ७, बर्जु गापामा ३, भोक्राह नरसिंहमा १, रामधुनी नपामा ३, हरिनगरा गापामा २ वटा परीक्षा केन्द्र कायम गरिएको छ ।

परीक्षा केन्द्रहरूमा ५० केन्द्राध्यक्ष, ८९ सहायक केन्द्राध्यक्ष, ६८० निरीक्षक, १३५ परीक्षा सहायक, २७१ कार्यालय सहयोगी परीक्षामा खटिने छन् ।