धरान : गोधुली क्लबको धरानमा पहिलो पटक रात्रिकालीन फुटबल खेल आयोजनाले यहाँको रात्रिकालीन जीवनमा सकारात्मक रुचि बढाउने सन्देश दिएको छ ।

परम्परागत मेला, महोत्सवमा हेर्दै आएका धरानेहरुका लागि हिजो बिहीबार साँझ रङ्गशालाको माहौल उस्तै थियो तर चासो फरक थियो । साङ्गीतिक आकर्षणमा झुम्मिने युवाहरूले प्याराफिट भरिएको थियो ।

फ्लडलाइटले चकाचौंध मेलामय साँयकालिन रङ्गशालामा आएका सहभागीहरूमा एउटै चासो थियो रात्रिकालीन फुटबल कस्तो होला ? 

गोधुली रनिङ कप फुटबलको २५ औँ संस्करणको रजत उत्सवले धरानमा फुटबल मात्र नभएर खेलकुदका रात्रिकालीन आयोजनहरुको ढोका खोली दिएको छ ।

सहरी विकाससँगै रात्रिकालीन समय स्वास्थ्य र सकारात्मक मनोरञ्जनसँग व्यतीत गर्ने विकल्पको विकास गर्न सकिन्छ भन्न उदाहरण पनि देखाइदिएको छ ।

फुटबल खेल अघि लोकप्रिय गायक पूर्ण राई एण्ड दाजु भाइको सांस्कृतिक प्रस्तुतिको संयोजनले किशोर युवाहरूमा सकारात्मक रुचि बढाउने आयोजनको रूपमा गोधुलीको २५ औँ संस्करण सुरु भएको छ ।

उद्घाटन खेलमा वडा ५ विजयी

उद्घाटन समारोहमा भएको पहिले खेलमा धरान-५ ले २-१ गोलले धरान-१६ लाई पराजित गर्दै क्वाटर फाइनलमा प्रवेश गरेको छ । धरान–५ का सुजन इङनामले पहिलो गोल गरे । लगत्तै धरान-१६ का सरुन श्रेष्ठले गोल फर्काएर खेललाई १-१ को बराबरीमा पुर्‍याए ।  

दोस्रो हाफमा धरान-५ का तिलबिक्रम लावतीले गोल गर्दै टिमलाई अग्रता दिलाए । लावतीको सोही गोल खेलको निर्णायक गोल बन्यो । 

खेलको म्यान अफ दि म्याच धरान-५ का तिलबिक्रम लावती घोषित भए । प्रतियोगिताको उद्घाटन धरान-१७ का वडाध्यक्ष सूर्यबहादुर भट्टराईले गरेका थिए ।

गोधुली फुटबलको आज शुक्रवार धरान-१० र धरान-१२ बिच खेल हुनेछ ।

चैत २१ सम्म सञ्चालन हुने खेलमा धरानका १८ वटा वडा सहभागी छन् । धरान-२ र धरान-७ प्रतियोगितामा सहभागी छैनन् ।

गोधुली विजेताले १ लाख ५० हजार र उप विजेताले ७५ हजार नगद पुरस्कार प्राप्त गर्नेछ । क्वाटर फाइनलमा पुगेको टिमहरू स्वर्गीय सुवास राई स्मृति सुपर-८ प्रतियोगितामा सहभागी हुने आयोजक गोधुली क्लबका उपाध्यक्ष सतिस केसीले जानकारी दिएका छन् ।