धरान : २५ औँ संस्करणको टेष्टी टेष्टी गोधुली रनिङ कप फुटबल प्रतियोगितामा १५ वडासँग टाइब्रेकरमा पराजित हुँदै डिफेन्डिङ च्याम्पियन १३ वडा प्रतियोगिताबाट बाहिरिएको छ ।
बिहीबार साँझ ७ बजे धरान रङ्गशालामा भएको खेलमा गत वर्षको विजेता १३ वडा र उपाधिको दाबेदार मानिएको १५ बडाबिच भएको खेल प्रतिस्पर्धात्मक रह्यो । निर्धारित समयको खेल गोल रहित बराबरीमा सकिएपछि खेल टाइब्रेकरमा धकेलिएको थियो ।

टाइब्रेकरमा १३ वडाका टिम क्याप्टेन निश्चल श्रेष्ठको प्रहार १५वडाका गोलकिपर प्रवीण लिम्बूले रोकिदिएका थिए । टाइब्रेकरमा १५ वडाका असित मगर, मदन लाबुङ, आशुतोष राई, नगेन राई र प्रवीण लिम्बूले गोल गरे ।
यता १३ वडाका इक्साहाङ लिम्बू, अविनाश राई, सुशान्त राई र मिलन घिमिरेले गोल गरे भने क्याप्टेन निश्चल श्रेष्ठले गोल गर्न सकेनन् । खेलको अधिकांश समय १५ वडाले १३ बडामाथि दबाबमा राखे पनि गोल भने गर्न सकेन ।
खेलको म्यान अफ द म्याच १५वडाका गोलकिपर प्रवीण लिम्बू घोषित भए । उनलाई माउन्ट एभरेस्ट ट्रेनिङ सेन्टरकार सञ्चालक कुमार तामाङले नगद २ हजार पुरस्कार वितरण गरेका थिए ।
भोली शुक्रवार धरानको ६ वडा र १४वडा बिच खेल हुने आयोजकले जानकारी दिएको छ । चैत्र २१ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा धरानका १८ वटा वडा सहभागी छन् । प्रतियोगिताको विजेताले १ लाख ५० हजार र उप विजेताले ७५ हजार नगद पुरस्कार प्राप्त गर्नेछन् भने प्रतियोगिताको क्वाटर फाइनलमा पुगेको टिमले स्व. सुवास राई स्मृति सुपर ८ प्रतियोगितामा सहभागी हुने अवसर प्राप्त गर्ने आयोजक गोधुली क्लबका उपाध्यक्ष सतिस केसीले जानकारी दिए ।