धरान : नेपाली महिला फुटबल राष्ट्रिय टिमकी कप्तान गोलकिपर एन्जिला तुम्बापो लिम्बूले सशस्त्र प्रहरीको कडा सुरक्षा घेरासाथ धरानमा आफ्ना प्यानहरूसँग भेटघाट गरेकी छन् ।
उनी चलचित्र ‘अञ्जिला’को प्रमोसनकालागि नेपाल आएकी हुन । एन्जिलाकै मुख्य भूमिका रहेको चलचित्र उनको सङ्घर्षशील जीवन कथामा आधारित छ ।

हाल ग्रिसको शीर्ष डिभिजन महिला फुटबल लिगमा निस एट्रोमिटौबाट खेलिरहेकी छन् । खेलमा व्यस्त उनी केही महिनादेखि ग्रिसमा छिन् । चलचित्रको प्रवर्द्धनका लागि दर्शकहरूसँग भेटघाट गरेर अञ्जिला पुनः ग्रिस फर्किने छिन् ।
उनलाई शनिवार धरान प्रवेश नाका तीनकुने सिरिजंगा चौकबाट सशस्त्र प्रहरीले स्कटिङ गरेर चलचित्र प्रदर्शन भइरहेको फ्रेण्ड्स सिनेमाजमा पुर्यायो । त्यहाँ लिम्बु सांस्कृतिक च्याब्रुङ नृत्य प्रदर्शन सहित पर्खेर बसेका दर्शकहरूले अन्जिलाको भव्य स्वागत गरे ।
स्वागतका लागि बसेकाहरूमा कलाकार सिर्जना सुब्बा, निर्देशक मिलन चाम्स, निर्माता प्रेम कुमार श्रेष्ठ, सह निर्माता विनोद अग्रवाल, चलचित्र निर्माता ज्योतिराज राई लगायत पनि थिए ।
अन्जिलाले चलचित्रको टिम सहित एन्फा एकेडेमी पुगेर प्रशिक्षार्थीहरुसंग भेट भेटघाट गरिन् । धरान रङ्गशाला पुगेर गोधुली कप फुटबल आयोजकको आतिथ्य समेत ग्रहण गरिन् ।
त्यहाँ फुटबल दर्शक दीर्घाबाट अन्जिला अन्जिला भन्दै करतल ध्वनीले उनको स्वागत भएको थियो ।
यसअघि शुक्रवार ग्रिसबाट काठमाण्डौं आएकी एन्जिलाले छाया सेन्टरको क्युएफएक्स सिनेमाजमा दर्शकहरूसँग भेटघाट गरिन् । साँझ इटहरीको ईलाइट सिनेमा पुगेर दर्शकहरूसँग भेटघाटमा गरिन् ।
शनिवार बिहान विराटनगरको क्युएफएक्स सिनेमाजमा दर्शकहरू भेटेर उनी धरान आइपुगेकी हुन । एन्जिलाले धरान निकै सफा सहर भएको बताउँदै धरान खेलकुदको उर्वर भूमि भएको बताइन् ।
छोटो समयमा महिला फुटबलमा चर्चित एन्जिला उनको बायोग्राफि चलचित्रबाट पनि चर्चित बनेकी छन् । तर एन्जिलाले अबको दिनमा अरू फिल्ममा भने अभिनय नगर्ने स्पष्ट गरिन ।
उनले भनिन् ‘मेरो क्षेत्र सिनेमा होइन, खेलबाट नै चिनिन र आफ्नो नाम बनाउन चाहन्छु ।’
चलचित्रका निर्देशक मिलन चाम्सले नेपाली सिनेमा धरानमा हिट भए देशभरी नै हिट हुने बताए ।
चलचित्रमा अञ्जिलाको आमा भएर अभिनय गरेकी कलाकार सिर्जना सुब्बाले एन्जिलासँग आमा छोरीजस्तै सम्बन्ध रहेको बताइन् ।
एन्जिलाले आज आइतबार झापाको बिर्तामोड र दमकमा दर्शकहरूसँग भेटघाट गरेकी छन् ।