धरान : रोटरी क्लब अफ धरानले यसपालि पनि यहि चैत्र ३० गते शनिवार तेस्रो रोटरी राष्ट्रिय साइक्लोक्रस रेस ‘च्यारिटी फन राइड’ रेस प्रतियोगिता आयोजना गर्ने भएको छ ।
बालबालिकाको शिक्षाको लागि मूल नाराका साथ आयोजना हुने साइकल रेसबाट सङ्कलित रकम सरस्वती मावि पानमारामा खेलकुदस्थल निर्माणमा खर्च गरिने छ ।

रोटरी क्लब धरानका अध्यक्ष विनयलाल श्रेष्ठले मङ्गलवार आयोजित पत्रकार सम्मेलनमा विद्यालयमा पिङ, रोटेपिङ, चाकाली चुकुली, निर्माण गरेर हस्तान्तरण गर्ने योजना रहेको बताए ।
उनले भने, ‘बालबालिकाहरू पढ्न, रमाउन र खेल्नका लागी बालबिकास केन्द्रमा आकर्षित होस भन्ने हाम्रो उद्देश्य हो ।’
रोटरी साइक्लो फनको तेस्रो संस्करणको दुरी १० किलोमिटर र साइक्लो क्रसको दोस्रो संस्करणको दुरी १८ किलोमिटर हुने बताइएको छ । प्रतियोगितामा १७० देखी २०० जना सम्मको सहभागी रहने अनुमान गरिएको छ ।
साइक्लो फन-३ जिरोको रुट भानुचोकबाट छाता चोक, पृथ्वी रोटरी चोक, सिंहदेवी, चिनियाँ चौक, माछाभौडी, सदन रोड, पिण्डेश्वर चोक, श्याम चोक, महादेव चोक, सेउती खोला पुल हुँदै दलार्मी चोक, पानबारी, स्कुलडाडाँ हुँदै सरस्वती मावि पानबारी सम्म हुनेछ ।
साथै १८ किलोमिटरको राष्ट्रिय एमटिबि रेस साइक्लो क्रस-२-० प्रतियोगिता पनि भानुचोकबाट छाता चोक, जिरो पोईन्ट, अमरहाट, पञ्चकन्या चोक, विजयपुर स्कुल, बेलडाँडा चोक, सेउती खोला बसन्तटार, त्रिवेणी चोक, पत्रङबारी, कुलुङ चोक, बगरकोट, देउराली, आईते चोक, अधेरी खोला ठिगाबारी, कर्माचोक सेरा खोला पुल, सयपत्री चोक, टप चोक, स्कुलडाँडा, पानमारा हुँदै सरस्वती माविमा समापन हुनेछ ।
साइक्लोक्रस रेसमा सहभागी खेलाडीहरूको दुर्घटना बिमा समेत गरिएको संयोजक मुकेश तोदीले जानकारी दिए । उनका अनुसार सुनसरी बाहिरबाट आउने सहभागीहरूलाई एक रातको आवासको व्यवस्था पनि गरिएको छ ।
साइक्लोक्रस रेसका सहभागीहरूले विद्यालय परिसरमा स्लो साइकल रेस तथा प्रोफेस्नल साइक्लिष्टहरूद्वारा कोरियोग्राफ स्टन्ट शो पनि प्रस्तुत गर्नेछन् ।
साइक्लो क्रस २-० एमटिबी रेसमा विजेतालाई नगद २५ हजार, मेडल र प्रमाणपत्र प्रदान गरिने छ । उपविजेताले नगद १५ हजार सहित मेडल प्रमाणपत्र प्राप्त गर्नेछन् ।
तेस्रो, चौथो ,पाँचौँ, छैटौँ सातौँ हुनेहरूले नगद १० हजार, ५ हजार, ३ हजार, २ हजार र १ हजार सहित मेडल र प्रमाणपत्र पाउनेछन् ।
महिलातर्फ फाष्टर राइडरले नगद पुरस्कार ५ हजार, मास्टर ४० वर्ष माथिका फास्टर राईडले पनि नगद ५ हजार, मेडल र प्रमाणपत्र पाउनेछन् ।
अघिल्लो वर्षको साइक्लो क्रस १-० को विजेता काभ्रेका अच्युत कृष्ण खनाल, उपबिजेता धरानका दिप सागर योञ्जन तामाङ र तेस्रो काठमाडौँका लक्ष्मण मल्ल भएका थिए ।