धरान : फेशनको सहर धरानमा विवाहित महिलाहरूको कोशी प्रदेश फेशन सो ‘मिसेस् स्टेट २०२५’ आउँदो २०८२ जेठ १७ गते शनिवार हुने घोषणा गरिएको छ ।

वुमेन्स वर्थ ग्रुपद्वारा आज शनिवार आयोजित पत्रकार सम्मेलनमा प्रतियोगिताको तयारी सुरु गरिएको घोषणा गरेको हो ।   

सन् २०१८ मा ग्रुपको स्थापनासँगै विवाहित महिलाहरूको पहिलो फेशन सो आयोजना गरिएको थियो । त्यसलाई निरन्तरता दिँदै सन् २०२० मा तेस्रो संस्करणको तयारी भइरहँदा फैलिएको कोरोना महामारीका कारण प्रतियोगिता स्थगित भयो ।

ग्रुपकी अध्यक्ष सुजाता श्रेष्ठले पत्रकार सम्मेलनमा भनिन् ‘कोरोना महामारीले रोकिएको तेस्रो संस्करण ५ वर्षपछि हुन लागेको छ ।’  

उनले भनिन ‘मिसेस् स्टेट गृहिणी महिलाहरूलाई लक्षित गरिएको कार्यक्रम हो ।’ वैवाहिक जीवन बिताइरहेका महिलाहरूमा भएको प्रतिभा बाहिर ल्याउन उनीहरूलाई उत्साहित गर्न आयोजना गरिएको उनले बताइन् ।

प्रतियोगितामा जुनसुकै उमेर भएका विवाहित महिलाको प्रतिभा प्रस्फुटन गर्ने स्थल मिसेस् स्टेट भएको उनको भनाई छ ।

वुमेन्स वर्थ ग्रुपको पहिलो गृहिणी महिलाहरूको 'फेशन शो'को ताज सम्झना घतानीले पहिरिएकी थिइन् । फस्ट रनरअप कानुन कार्की रहेकी थिइन् । दोस्रो सिजनमा मिसेस् स्टेटको ताज पुष्पकला फोम्बोले पहिरिएकी थिइन् । फस्ट रनरअप ज्योति झा रहेकी थिइन् । 

उनीहरू पत्रकार सम्मेलनमा उपस्थित थिए । दोस्रो मिसेस् स्टेट उपाधि विजेता पुष्पकलाले प्रतियोगिताले विवाहित महिलाहरू सामाजिक गतिविधिमा सहज बनाउने बताइन् । पारिवारिक सहयोग र समझदारी सकारात्मक रहेको उनको भनाई थियो ।

ग्रुपका परामर्शदाता विकास चाम्लिङ राईले सहभागी गृहिणीहरूका परिवार अभिभावकसँग प्रतियोगीताका बारे आयोजक समितिसँग अग्रिम छलफल हुने गरेको उल्लेख गर्दै उदार सोचका परिवारका गृहिणीहरू सहभागी हुने गरेको बताए ।

ग्रुपकी सचिव ज्योति राईले विज्ञप्ति जारी गर्दै प्रतियोगिताले महिलाहरूको प्रतिभा र क्षमता, दक्षता अभिवृद्धि गर्न सघाउ पुर्‍याउने एवं सौन्दर्यता प्रस्तुत गर्न समेत प्रोत्साहित गर्ने बताइन् ।

विज्ञप्ति अनुसार मिसेस् स्टेट-३ का लागि पहिलो अडिसन वैशाख ६ गते शनिवार धरान-९ हाङकुक साराङ कोरियन रेष्टुरेन्टमा हुनेछ । दोस्रो अडिसन वैशाख १३ गते धरान-१० चौँठो रेष्टुरेन्टमा हुनेछ । वैशाख १८ गते बिहीबार अडिसनमा छनौट भएका प्रतिस्पर्धीका अभिभावक सँग भेटघाट तथा अन्तरक्रिया कार्यक्रम हुनेछ ।

छनौट भएकाहरूलाई वैशाख २० गते देखि तिन हप्ता सम्म विभिन्न विधामा प्रशिक्षण गराइने छ । प्रशिक्षण नयाँ संविधानमा महिला अधिकार, महिला सशक्तीकरण तथा लैङ्गिक समानता, महिला उद्यमशीलता, महिला न्यायिक अधिकारका विषय हुनेछन् ।

साथै सकारात्मक सोचाइ अभिवृद्धि तालिम, संस्कृति र पहिचान, महिला स्वास्थ्य समस्या, सचेतना, प्राथमिक उपचार, उद्घोषण तथा भाषणकला तालिम, आधारभूत पत्रकारिता र फोटोग्राफीका कक्षा सञ्चालन गरिने छ ।

टेबल शिष्टाचार, फिटनेस, आत्मरक्षा तालिम, बिजनेस टक, पर्यटन प्रवर्द्धन कक्षा, अर्ग्यानिक कृषि सम्बन्धी जानकारीमूलक भ्रमण, मेकअप, र्‍याप वर्क, क्याटवक सेसन र फोटो सेसनहरू तालिमका विषयका विषय रहेका छन् । 

प्रतियोगिताको कोरियोग्राफी ललित राईले गरिरहेका छन् । ग्रान्ड फिनाले धरान-१६ स्थित गुरुङ विविक्यु पार्टी प्यालेसमा हुने विज्ञप्तिमा उल्लेख छ ।

मिसेस् स्टेट २०२५ सिजन-३ का विजेता, फस्ट रनर अप र सेकेन्ड रनरअपले क्रमशः नगद ५१ हजार रुपैयाँ, २५ हजार, १५ हजार, क्राउन, ट्रफी र गिफ्ट ह्याम्पर प्राप्त गर्नेछन् ।

व्यक्तिगत टाइटल अवार्डहरू मिसेस् ट्यालेन्ट, मिसेस् पर्सनालिटि, मिसेस् व्युटिफुल, मिसेस् फ्रेन्डशिप, मिसेस् वेस्ट वक, मिसेस् स्माइल, मिसेस् फोटोजेनिक, मिसेस् डिसिप्लिन, मिसेस् एक्टिभ र पिपल्स च्वाइस रहेको कोषाध्यक्ष रोजी ताम्राकारले बताइन् ।