धरान : धरानमा पहिलो पटक स्वर्गीय पार्वती लिम्बु स्मृति फुटबल प्रतियोगिता वैशाख ८ देखी धरान रङ्गशालामा हुने भएको छ ।
प्रतियोगिता माओवादी निकट वाईसीयलका केन्द्रीय सचिव श्री सुब्बाले आमा स्वर्गीय पार्वती लिम्बुको स्मृतिमा आयोजना गर्न लागेका हुन ।
प्रतियोगीताका संयोजक रहेका सुब्बाले बुधवार पत्रकार सम्मेलन आयोजना गरी फुटबल प्रतियोगिता नेचर क्लब धरान र वाईसीएल धरानको संयुक्त आयोजनामा हुने बताए ।
वैशाख ८ देखि १३ गते सम्म हुने प्रतियोगिताको उद्घाटन प्रमुख अतिथि पूर्व पर्यटन तथा सस्कृती मन्त्री सुदन किराँतीले गर्ने संयोजक सुब्बाले बताए ।
प्रतियोगितामा धरानका २० वटा वडाहरूबाट छानिएका टिम र मोरङ, झापा, तेह्रथुम लगायतका जिल्लाबाट १० टिम सहभागी हुने बताइएको छ । प्रतियोगिताको विजेता टिमलाई नगर १ लाख रुपया पुरस्कार सहित ट्रफी,मेडल प्रदान गरिने छ ।
उपविजेताले नगद ५० हजार सहित ट्रफि र मेडल प्राप्त गर्नेछ । व्यक्तिगत पुरस्कार उत्कृष्ट खेलाडीलाई नगद १० हजार, सर्वाधिक गोलकर्ता, उत्कृष्ट गोलकिपरलाई १०/१० हजार सहित मेडल र प्रमाणपत्र प्रदान गरिने छ ।
उत्कृष्ट कोच, राईजिङ्ग प्लेयरलाई नगद ५ हजारका साथै हरेक खेलको म्यान अफ दि म्याचलाई नगद १ हजार प्रदान गरिने संयोजक सुब्बाले जनाए ।