कुनै बेला वामपन्थीको गढ मानिएको सुनसरी १ यस पटक चर्चित निर्वाचन क्षेत्रको रूपमा चिनिएको छ । स्वतन्त्र उम्मेदवारको रूपमा धरानको नगरप्रमुख विजयी भएका हर्कराज राईले श्रम संस्कृति पार्टी खोलेर सुनसरी १ बाट उम्मेदवारी दिएपछि चर्चा झनै चुलिएको छ।
यसअघि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) उम्मेदवारले कडा टक्कर दिएको सुनसरी १ मा एमालेको समर्थन पाएका जसपा उम्मेदवार अशोक राई विजयी भए । यस पटक एकल चुनावी मैदानमा होमिएको एमालेले बलियो सङ्गठनलाई आधार बनाएको छ । नेपाली काँग्रेस, नेपाली कम्युनिस्ट पार्टी (नेकपा) पनि चुनावी अभियानमा व्यस्त छन् । चुनावी दौरानकै क्रममा एमालेबाट सुनसरी १ का उम्मेदवार टिकाराम लिम्बु (टिका माङ्ले) सँग कपुरी न्यूजले गरेको कुराकानी ।
यस पटक एमालेको लागि चुनावी अभियान निक्कै सकसपूर्ण भयो । भोट माग्न जाँदा के भन्छन् मतदाता ?
चुनावी अभियान अहिले मात्र होइन अरुबेला पनि सकसपूर्ण नै हुन्छ । मतदाताको मन जितेर मत लिने कुरा सामान्य होइन । यो पहिल्यैदेखि सकसपूर्ण नै थियो । यस पटक अलिक सजिलो चाहिँ भएको छ । यस पटक अन्य दलहरूले गठबन्धन नगरेको र हामी पनि चुनावी मैदानमा सिङ्गल भिडिरहेको हुँदा यो सहज र रमाइलो चुनाव हो हाम्रो लागि । जहाँसम्म मतदाताको सवाल छ । मतदाता उत्साहित छन् । मत सबैतिर विभाजित हुने खालको अवस्था देखिन्छ । तर अन्तिममा फैसला एमालेको पक्षमा आउँछ ।
सबैतिरबाट एमाले माथि प्रश्नको वर्षा छ । एमालेलाई मत नदिने अभियान नै चलेको छ । तपाईँलाई चाहिँ कसरी सहज भयो निर्वाचन ?
हो ! एमाले माथि चौतर्फी प्रहार छ । दाजुभाइ बिचमा मनमुटाब भएपनि छिमेकीबाट आक्रमण भएपछि एकताबद्ध भएर सामना गर्ने हाम्रो परम्परा नै छ । अहिले एमालेले अन्य दलहरूबाट मात्र हैन बाहिरी शक्तिबाट पनि आक्रमण भइरहेकै छ । यो सबैले थाहा पाएकै कुरा हो । एमाले कार्यकर्ताले यो विषम परिस्थितिको महसुस गरेका छन् । यस्तो अवस्थामा एकताबद्ध हुन सकिएन भने पार्टीमा मात्र हैन देशमै सङ्कट आउने एमाले कार्यकर्ताको बुझाइ छ । यही बुझाइले पार्टीलाई एक ढिक्का बनाएको छ । त्यसमाथि पनि सुनसरी १ मा एमाले भित्र अभूतपूर्व एकता छ ।
एमालेका मतदाता नयाँ दलतर्फ आकर्षित बन्दै गएको रिपोर्टहरू आइरहेका छन् ? सुनसरी १ मा चाहिँ कसरी रोक्नु भयो ?
ठिक हो । एमालेका मात्र होइन अन्य सबै दलका मतदाता नयाँ खोज्दै हिँडेको देखिन्छ । नयाँ को हो भन्ने छुट्टै विषय हो । तर सुनसरी १ मा अन्य दलहरूले पनि आआफ्नै उम्मेदवार उठाएका छन् । सबैले अभियान चलाएका छन् । यसले आफ्नो दलको मत सुरक्षित गर्ने नै भयो । जुन हाम्रो लागि झनै सहज कुरा हो । एमालेको सङ्गठन बलियो भएको कारणले हामी जित नजिक छौँ । यसअघि बारम्बार एमालेले जितेको र प्रदेश सभाका दुई वटै क्षेत्रमा हामीले सङ्गठनकै बलमा जितेका हौँ । हाम्रो सङ्गठन नै जितको आधार हो।
तपाई भोट चाहिँ के भन्दै माग्दै हुनुहुन्छ ?
हामीले विगतमा पनि धरान र सिङ्गो १ नम्बर क्षेत्रमा धेरै काम गरेका छौँ । त्यही कामलाई टुङ्गो लगाउनुपर्ने छ । सामाजिक, धार्मिक र राजनीतिक सद्भाव कायम राख्नुपर्ने अवस्था छ । त्यही भएरपनि विगतमा भएका गल्ती सच्याउँदै एमालेले भोट मागिरहेको छ । हामी कानुन बनाउने ठाउँमा जाने हो भनिरहेका छौँ । नागरिकले हामीप्रति विश्वास गरेका छन् । चुनाव एमालेले नै जित्छ ।
चुनाव जितेपछि गर्ने चाहिँ के हो तपाईँले ?
धरान र बराहक्षेत्रलाई भावनात्मक र भौतिक रूपमै जोड्ने काम गर्नुछ । हामीले धार्मिक पर्यटनको मार्फतबाट पर्यटन प्रवर्द्धन गर्न सक्ने देखेका छौँ । लेउती-धरान सुरुङ मार्गको आयोजना एमालेले नै ल्याएको हो । जुन आयोजनाले धरानलाई पुनर्जीवन दिने र धरानको खानेपानीको दीर्घकालीन समाधान हुने हामीले देखेका छौँ ।


































































