धरान : मेयर भिजन कोष र उपमेयर भिजन कोष शीर्षक हटाइए पनि नगर प्रमुख र उपप्रमुखको विवेकमा खर्च गरिने गरी नगर भिजन कोषमा ५ करोड ५ लाख रुपैयाँ विनियोजन गरिएको धरान उपमहानगरपालिकाको बजेट आज शनिवार १७ औँ नगर सभाले पारित गरेको छ ।

उक्त विनियोजित रकम प्रमुखले खर्च गर्ने गरी नगर भिजन कार्यक्रम-१ मा ३ करोड ५ लाख र उपप्रमुखले खर्च गर्नेगरी नगर भिजन कार्यक्रम-२ मा २ करोड रुपैयाँ रहेको छ ।

उक्त रकम बाहेक बजेटमा छुट्टै प्रमुख कोषमा १ करोड ५० लाख, उपप्रमुख कोष ७५ लाख रुपैयाँ विनियोजन गरिएको छ । यसका साथै कार्यपालिका सदस्यहरूको विवेकमा खर्च गर्न कार्यपालिका कोष ४५ लाख रुपैयाँ बजेटमा पहिलो पटक विनियोजन भएको छ।यसअघि बजेटमा दुवै कोष नराख्ने, बजेट घाटा घटाउनु पर्ने अडान लिएर नेकपा एमालेका वडाध्यक्ष र कार्यपालिका सदस्यहरूले बजेट छलफल बैठक बहिस्कार गरेका थिए । उक्त विवादकै कारण बजेट २ महिना विलम्ब भएको हो ।

शीर्षक हटाइएको तर नगर प्रमुख र उपप्रमुखको विवेकमा खर्च हुने छुट्टाछुट्टै रकम सहितको बजेट पारित हुँदा बजेटको विवाद राजनीतिक प्रतिष्ठा जोगाउने काम मात्र भएको देखिएको छ ।

बजेटको विवाद मिलाउने क्रममा बजेट घाटा कम गर्न १० प्रतिशत पुँजीगत खर्च घटाउने सहमति भएका थियो । तर नगर सभाले पारित गरेको बजेटमा खर्च घटाइएको छैन । यस बारे नगर सभामा कोही पनि नगर सभासदहरुले प्रश्न उठाएनन् ।

नगर सभाका प्रमुख अतिथि कोशी प्रदेश सांसद यशोदा कायस्थले धरानमा नगर अस्पतालको निर्माण आवश्यक भएको कुरामा जोड दिइन् । उनले उपमहानगरपालिकाले यसको पहल गर्नु पर्ने बताउँदै धरान अस्पतालको निर्माणमा २ लाख रुपैयाँ प्रदान गर्ने घोषणा गरिन् ।

बजेटमा नगर गौरव आयोजना शीर्षकमा अस्पताल सञ्चालनमा २ करोड विनियोजन गरिएको छ । नगर सभाले आर्थिक वर्ष २०८२/०८३ को लागि कुल २ अर्ब २० करोड ७४ लाख ५९ हजार रुपैयाँको अनुमानित आयव्यय पारित गरेको हो । उक्त बजेट अघिल्लो आर्थिक वर्ष भन्दा ३१ करोड ३१ लाख १० हजार ७ सय २० बजेट बढी छ । नीति तथा कार्यक्रम बजेट प्रस्तुत गर्दै उपप्रमुख अईन्द्र विक्रम बेघाले चालु पुँजीगत र वित्तीय व्यवस्थामा प्रमुख ५ वटा बजेटलाई प्राथमिकता दिँदै महत्त्वाकाङ्क्षी बजेट प्रस्तुत गरेका हुन । 

बजेटमा आन्तरिक राजस्वबाट ८० करोड ५३ लाख ६५ हजार, सङ्घीय सरकारबाट अनुदान ८९ करोड २९ लाख, प्रदेश सरकारबाट अनुदान ७ करोड ७३ लाख ४४ हजार, राजस्व बाँडफाँडबाट ३४ करोड १८ लाख ५० हजार, सडक बोर्डबाट २ करोड र गत वर्षको मौज्दातबाट ७ करोड आय हुने अनुमान गरिएको छ ।

धरानका २० वटा वडाको लागि २१ करोड, सहरी योजना तथा भौतिक पूर्वाधार विकास तर्फ ६६ करोड ९४ लाख, शिक्षा युवा तथा खेलकुद तर्फ ४६ करोड ८५ लाख, स्वास्थ्य तर्फ ६ करोड ९९ लाख ९५ हजार, सामाजिक विकास तर्फ ४ करोड ८६ लाख ४५ हजार खर्च गरिने छ ।

आर्थिक विकास तर्फबाट १ करोड २९ लाख, वन वातावरण ऊर्जा तथा विपद् व्यवस्थापन तर्फ २ करोड ७४ लाख ५० हजार, कानुन तथा न्याय सम्पादन तर्फ २० लाख, सार्वजनिक जग्गा संरक्षण तर्फ १५ लाख, राजस्व परिचालन तर्फ ४३ लाख खर्च गरिने छ ।

नगर कार्यपालिकातर्फ निर्शत विनियोजन १ अर्ब ३१ करोड ९२ लाख, ८२ हजार, सशर्त अनुदानबाट ६० करोड ५६ लाख ७७ हजार, समपूरक बजेटबाट १ करोड ८२ लाख, विशेष अनुदानबाट ५ करोड ४३ लाख विनियोजन गरेको छ । 

नगरपालिकाले आर्थिक वर्ष २०८१/०८२ मा १ अर्ब ९१ करोड २७ लाख १८ हजारको आय गरेकोमा असार मसान्त सम्ममा १ अर्ब ५२ करोड ३२ लाख ३ हजार ६८ रुपैयाँ ४७ पैसा खर्च गरेको छ । नगर सभाको अध्यक्षता नगरप्रमुख हर्क साम्पाङले गरेका थिए ।