धरान : धरान–२० चिण्डेडाडा नजिक गुम्बा डाँडामा गुम्बा सहित र्बौद्धगुरु पद्म सम्भव (गुरु रिन्पोछ )को ४० फिट अग्लो मूर्ति स्थापना गरिने भएको छ ।
निर्माण स्थल गुम्बाडाडामा बिहीबार आयोजित पत्रकार सम्मेलनमा ङाग्युर उर्गेन छ्योइखोलिंङ गुम्बा तथा मूर्ति निर्माण समितिका अध्यक्ष कर्ण तामाङले उक्त जानकारी दिएका हुन । परियोजनाको अनुमानित लागत ४ करोड ३० लाख रुपैयाँ रहेको उनले बताए ।
गुम्बा डाँडाको ६ कट्ठा क्षेत्रफलमा निर्माण हुने परियोजनाका लागि कोशी प्रदेश सरकारबाट ९ लाख ५० हजार रुपैयाँआर्थिक सहयोग प्राप्त भएको अध्यक्ष तामाङले बताए । स्थानीय सहयोगीहरूबाट हाल सम्म ५ लाख रुपैयाँ सङ्कलन भएको छ ।
नगर प्रमुख साम्पाङले विभेद गरे
समितिले परियोजनालाई सहयोग जुटाउन ‘एक व्यक्ति, एक रड, एक इट्टा’ अभियान सुरु गरेको छ । अध्यक्ष तामाङले भने ‘धरान उपमहानगरपालिकाका नगर प्रमुख हर्क साम्पाङले भने जातीय विभेद गरेका छन् ।’
चिण्डे डाँडामा सुम्निमा पारुहाङको प्रतिमा बनाउन नगर प्रमुख आफैले पहल गरिरहेका छन्, तर बौद्ध धर्मालम्बीहरुको गुरु पद्य सम्भव गुरु रिन्पोछेको मूर्ति निर्माण तर्फ ध्यान नदिएको उनको भनाई थियो ।
परियोजनाले धरानको पर्यटन प्रवर्द्धनमा सघाउ पुर्याउने भएकोले स्थानीय सरकारको ध्यान जानुपर्ने उनले बताए ।
बहुजातीय,बहुधार्मिक क्षेत्र
सुनसरी र धनकुटाको सिमानामा पर्ने विष्णु पादुकामा राई, तामाङ, मगर, लिम्बु र विश्वकर्मा समुदायको बसोबास भएकोले यो क्षेत्र बहुजातिय, बहु धार्मिक रहेको अध्यक्ष तामाङको भनाई छ ।
यसअघि २०७४ असार १ देखि बौद्ध गुरु टिकाराम लामा खेन रिन्पोछेको पहलमा त्यहाँ २ तलाको गुम्बा पाठशाला निर्माण भएको छ । गुम्बा बनाउन धरान–२० का रहरमान तामाङले २ कट्ठा जग्गा निःशुल्क दान गरेका हुन । परियोजनाका लागि थप ४ कट्ठा खेन रिन्पोछे स्वयंले खरिद गरेका अध्यक्ष तामाङले बताए ।


































































