धरान: कोशी प्रदेशस्तरीय अन्तर विद्यालय डिआइजी रनिङ कप फुटबल प्रतियोगिताको सातौँ संस्करणको उद्धाटन खेलमा नेपाल पुलिस स्कुल रेड विजयी भएको छ।

प्रतियोगिताको पहिलो खेलमा नेपाल पुलिस स्कुल रेडले भरौल बाल मन्दिर स्कुललाई ५–० ले पराजित गर्दे विजयी हासिल गरेको हो ।

बुधवार नेपाल प्रहरी प्रदेश कार्यालय धरानस्थित फुटबल मैदानमा सञ्चालन भएको प्रतियोगिताको १६ औँ मिनेटमा पुलिस स्कुलका समीर राईले ह्याट्रिक हान्दै ३ गोल गर्न सफल भए ।उनले खेलको १६ औ मिनेट,दोस्रो हाफको ८ औ मिनेट, र ११ औ मिनेटमा गोल गरे भने पुलिस स्कुलका खेलाडी उज्ज्वल थापाले खेलको २४ औ मिनेटमा १ गोल गरे ।त्यस्तैगरि खेलको दोस्रो हाफमा पुलिस स्कुलका खेलाडी निश्चल खडकाले खेलको ६७ औ मिनेटमा १ गोल गरे ।

खेलको म्यान अफ द म्याच पुलिस स्कुलका खेलाडी समीर राई घोषित भएका थिए। उनले नगद १ हजार ५ रुपैयाँ नगदसहित मेडल र प्रमाणपत्र प्राप्त गरे ।

प्रतियोगिताको उद्घाटन धरान उपमहानगरपालिका उपप्रमुख अईन्द्र विक्रम बेघाले गरेका हुन । उनले विभिन्न राजनीतिक उतार–चढावका कारण छैटौँ संस्करणपछि रोकिएको डिआइजी कप पुनः सुरु गर्दे विद्यालय तहबाट फुटबल खेलाडी उत्पादन तयार गर्न नेपाल पुलिस स्कुलले गरेको प्रतियोगिता उदाहरणीय भएको बताए ।

प्रतियोगिताको विजेताले ट्रफीसहित नगद ८१ हजार ५ र उपविजेताले ट्रफीसहित ४१ हजार ५ रुपैयाँ प्राप्त गर्नेछ । प्रतियोगितामा कोशी प्रदेशका १६ विद्यालय सहभागी भएका छन्।

प्रतियोगिताको छैटौं संस्करणसम्म धरानको डिपोट स्कुलले चार पटक विजेता हुन सफल भएको छ।प्रतियोगितामा यु–१७ र यु–१८ उमेर समूह अन्तर्गत कक्षा १० सम्म अध्ययनरत तथा एन्फाको कुनै पनि लिगमा सहभागी नभएका विद्यार्थी खेलाडीले सहभागिता जनाएका छन् ।

प्रतियोगितामा नेपाल पुलिस स्कुल धरान रेड र ब्लु, प्रभात सेकेण्डरी बोर्डिङ स्कुल, भरौल विद्या मन्दिर, सैनिक आवासीय महाविद्यालय धरान, ज्ञानोदय माध्यमिक विद्यालय धरान, माउन्ट हर्मन एकेडेमी धरान, डिपोट सेकेण्डरी स्कुल धरान, निधी सेकेण्डरी स्कुल झापा, वाल्मीकि एजुकेसन फाउन्डेसन झापा,पिनाकल ज्ञान मन्दिर मोरङ, दिल्ली पब्लिक स्कुल मोरङ, दिल्ली पब्लिक सेकेण्डरी स्कुल, बालिमकी एमएस मोरङ, आदर्श इङ्लिस स्कुल मोरङ, सिद्धार्थ सेकेण्डरी स्कुल मोरङ तथा सफल सिद्धार्थ एकेडेमी मोरङ सहभागी छन्। डिआइजीपी कप २०५८ सालदेखि प्रारम्भ भएर २०६३ सालमा बन्द भएको थियो ।

प्रतियोगिताको भोली बिहीबारको खेल निधि माध्यमिक विद्यालय झापा र बालमिकि स्कुल मोरङ बिच दिनको हुनेछ।

nepal-police-udghatan