धरान : लिम्बु जातिको आङबुहाङ थरको वंशावली पुस्तक लेखन, सङ्कलन र प्रकाशनको आर्थिक आर्थिक विषयमा उत्पन्न विवादका कारण असन्तुष्ट पक्षले आङबुहाङ समाजको तेस्रो साधारण सभा बहिस्कार गरेको छ ।
धरान-१० सैनिक भवनमा बुधवार देखी सुरु भएको साधारण सभा वंशावली लेखन र आर्थिक अनियमितताको आरोपकै कारण बिहीबार पनि जारी थियो । विवाद चलिरहेकै अवस्थामा आङबुहाङ वंशका दाजुभाइहरूको एक समूहले ज्ञापन पत्र बुझाउँदै सभा बहिष्कार गरेका हुन ।
बहिष्कार गर्ने समूहले आज बिहीबार पत्रकार सम्मेलन गर्दै वंशावली लेखनमा मनपरी गरिएको र पुस्तक प्रकाशनमा आर्थिक अनियमितता भएको आरोप लगाएको छ ।
आङवुहाङ समाजका केन्द्रीय सदस्य खगेन्द्र आङबुहाङले वंशावली मनपरी ढङ्गले लेखिएको र लाखौँ रुपैयाँको हिसाब–किताब अपारदर्शी भएको बताए । उनका अनुसार वंशावली प्रकाशन गर्न देश विदेशबाट उठाइएको करोडौँ रकममा आर्थिक अनियमितता भएको छ ।
वंशावली लेखन गड बढी गरेर नाता सन्तानको सम्बन्ध नै तलमाथि भएको केन्द्रीय सदस्य खगेन्द्र आङबुहाङले बताए । उनले भने ‘सन्तानको सबै भन्दा जेठालाई कान्छा र कान्छालाई जेठा बनाएर प्रकाशित गरिएकोमा आपत्ति गरिए पनि त्यसमा सुधार गरिएन ।’
समाजका केन्द्रीय अध्यक्ष पर्शुराम आङबुहाङ र वंशावली प्रकाशन समितिका केही पदाधिकारीहरूले एकलौटी ढङ्गले वंशावली प्रकाशन गरी विमोचन समेत गराएकोमा असन्तुष्ट पक्षले आपत्ति जनाउँदै आएको खगेन्द्र आङवुहाङले बताए ।
वंशावली पुस्तकमा तथ्य गलत रूपमा प्रकाशित गरिएको भनी गत भदौ २८ गते विमोचन समारोहमा नै चर्को विवाद हात हालाहालको स्थिति उत्पन्न भएको थियो । त्यो विवाद समाधान नगरी पुन साधार सभा बोलाइएकोले सभा बहिस्कार गरिएको बताइएको छ ।
खगेन्द्र आङबुहाङका अनुसार वंशावली सबैको सहमतिमा बन्नु पर्ने तर बनेन । इतिहासमा सुब्बा अनगिन्ती भएको अवस्थामा १८३१ अगाडीको पुस्ता देखि वंश केलाउनु पर्ने अवस्थामा १८८६ पछाडि भएको सन्तान चैँ जेठो भनिएको छ ।
उनले भने ‘यो स्वीकार्य छैन उनीहरू सुब्बालाई स्थापित गर्न खोज्दै छन् ।’ वंशावलीमा सिरियल नभएको कसरी जेठो पुस्ता हुन्छ ? भनी उठाइएको प्रश्न र अभिलेखमा हुँदा हुँदै वंशावलीमा ५ पुस्ता तलमाथि भएकोमा सुधारको माग गरिएको थियो । तर कुनै सुधार नभई साधारण सभा बोलाएर असन्तुष्ट पक्षको अपमान गरिएको खगेन्द्र आङबुहाङले बताए ।
असन्तुष्ट पक्षले २०८२ पुस १२ गते साधारण सभा सम्बन्धी छलफलमा आफूहरूले पेश गरेको प्रस्तावहरू पूर्ण रूपमा अस्वीकार गर्दै एकतर्फी ढङ्गले साधारण सभा बोलाउने निर्णय भएको घोषणा गरिएको आरोप लगाएको छ ।
ज्ञापन पत्र अनुसार वंशावली प्रकाशनका नाममा देश–विदेशबाट सङ्कलित लाखौँ रुपैयाँ कार्यसमिति कोषाध्यक्षलाई बेवास्ता गर्दै अध्यक्ष र महासचिवले प्रभु बैङ्कमा छुट्टै संयुक्त खाता खोली खर्च गरेका छन्। आयव्यय विवरणको लेखा परीक्षण र अनुमोदन नगरी साधारण सभामा जान खोजिएको भन्दै असन्तुष्ट पक्षले गम्भीर आपत्ति जनाएको छ ।
वंशावलीमा साइनो, मर्यादा र इतिहासकै विषयमा गहिरो मतभेद रहँदा पनि छाता सङ्गठन, उपथरी वंश र विषय विज्ञहरूको सहभागितामा सहजीकरण नगरी गुपचुप रूपमा वंशावली लेखन र विमोचन गरिएको आरोप छ ।
गत भदौ २८ गते बहुमत वंशजलाई हल बाहिर राखी ढोका–झ्याल बन्द गरेर कथित वंशावली विमोचन गरिएको भन्दै त्यसलाई रद्द गरी पुनर्लेखन गर्नुपर्ने माग गरिएको छ । आङबुहाङ समाजको साधारण सभा वंशको ऐतिहासिक थातथलो गाउँघरमै हुनुपर्ने माग गरिएको छ ।
साधारण सदस्यता वितरणमा पारदर्शिता नदेखिएको र अन्य उपथरी वंशसँग १३औँ पुस्तासम्मको इतिहासमा एकरूपता नगरी वंशावली प्रकाशन गर्न खोजिएको आरोप लगाइएको छ ।
विज्ञप्तिमा वंशावली र इतिहास जस्तो संवेदनशील विषयलाई बहुमत अल्पमतको अङ्कगणित, राजनीति वा धर्मसँग जोडेर निर्णय गर्न खोजिएको भन्दै कडा आपत्ति जनाइएको छ ।
असन्तुष्ट पक्षले वंशावली पुनर्लेखन, सङ्कलित रकमको पारदर्शी आयव्यय अनुमोदन र सम्मानजनक सदस्यता वितरणको माग गरेका छन्। ज्ञापन पत्र जिल्ला प्रशासन कार्यालय इनरुवा र थिन्दुलुङ खोक्याङ वंश सङ्घलाई बोधार्थ पठाइएको छ ।
केन्द्रीय सदस्य खगेन्द्र आङबुहाङका अनुसार २०८२ भदौ १५ गते सुनसरी जिल्ला प्रशासन कार्यालयमा संस्थाको सम्पूर्ण गतिविधि रोक्न निवेदन दर्ता गरिएको भए पनि अटेर गर्दै वंशावली प्रकाशन र साधारण सभा बोलाएको हो ।