धरान : धरानमा नयाँ पर्यटकीय पदमार्गको रूपमा किराँतकालीन राजधानी विजयपुर र साँगुरीगढीलाई जोड्न पहिलो पटक आइतबार दौड प्रतियोगिता तथा पैदल यात्रा सम्पन्न गरिएको छ ।
प्रतियोगिता ३०४ औँ पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसको अवसरमा आयोजना गरिएको हो । नेपाली सेनाको इटहरी स्थित भगवती दल र धनकुटा स्थित भीमदल गण तथा धरान उपमहानगरपालिका र साँगुरीगढी गाउँपालिकाको सहकार्यमा एकता दिवस मनाइएको छ।
उक्त अवसरमा धरान उपमहानगरपालिकाका उपप्रमुख अइन्द्रविक्रम बेघाले ऐतिहासिक तथा पुरातात्त्विक सम्पदाको संरक्षण र संवर्द्धनमा जोड दिँदै भने ‘इतिहाससँग जोडिएका स्थलको पहिचान र संरक्षण बिना दिगो पर्यटन सम्भव छैन ।’
साँगुरीगढी गाउँपालिकाका अध्यक्ष जितेन्द्र रुम्दाली राईले विजयपुरगढी र साँगुरीगढीलाई पर्यटकीय मार्गको रूपमा जोडेर कार्यक्रम हुनु महत्त्वपूर्ण रहेको बताए । इतिहास, पहिचान र विकासलाई एउटै धारमा ल्याउनु पर्ने उनको भनाई थियो ।
प्रा.डा राजेन्द्र शर्माले विजयपुरगढी र साँगुरीगढीजस्ता स्थललाई राष्ट्रिय पहिचानका केन्द्रका रूपमा विकास गर्न स्थानीय, प्रदेश र सङ्घीय सरकारबिच समन्वय आवश्यक रहेको बताए ।
साँगुरीगढी-१ बुधिमोराङ स्थित मोराहाङ राजाको दरबारका भग्नावशेष औपचारिक संरक्षण नहुँदा जोखिममा छन । विजयपुरगढीमा अव्यवस्थित संरचना निर्माण अतिक्रमण र संरक्षणको अभावले पुरातात्त्विक महत्व संकटमा परेको बारेमा सरोकारवालाहरूले सवाल उठाइरहेका बेला दुवै ऐतिहासीक स्थललाई जोडेर कार्यक्रम भएको हो ।


































































