धरान: धरान-१२ स्थित पब्लिक हाईस्कुलले नेपालका २७ हजार सामुदायिक विद्यालयमध्ये तेस्रो स्थान हासिल गरेको छ ।
शिक्षा मन्त्रालयको शैक्षिक गुणस्तर महाशाखाले मापन गरेको १६ वटा सूचक पार गर्दै पब्लिक स्कुल, नेपालकै तेस्रो स्थान हासिल गर्न सफल भएको हो। 
जिल्ला शिक्षा कार्यालयबाट  छनोट भई कोशी प्रदेशबाट सिफारिस भएका ४२ वटा विद्यालयमध्ये अन्य विद्यालयहरूलाई पछि पार्दै  देशभरबाट पब्लिक तेस्रो बनेको हो ।
नेपालकै तेस्रो बनेको पब्लिक हाई स्कुलले शुकबार ७९औँ वार्षिकोत्सव मनाएको छ । प्रमुख अतिथि धरान उपमहानगरपालिकाका कार्यवाहक प्रमुख अईन्द्र विक्रम बेघाले विद्यालयलाई बधाई तथा शुभकामना व्यक्त गरे।
उनले  सामुदायिक विद्यालयहरूको चुनौतीपूर्ण अवस्थाबिच पनि विद्यालयले मेहनत र टिमवर्कका माध्यमबाट उल्लेखनीय उपलब्धि हासिल गरेको बताए।
स्कुलका ३ हजार ५ सय विद्यार्थीलाई सही मार्गतर्फ डोर्‍याउने कार्य सम्पूर्ण विद्यालय परिवारको सामूहिक प्रयासको परिणाम भएको उनको भनाइ थियो।
विद्यालयले आफ्नो पहिचानलाई निरन्तर उचाइमा पुर्‍याउँदै अन्य विद्यालयहरूलाई समेत प्रेरणा दिने काम गरिरहेको उल्लेख गर्दै उनले अभिभावक,शिक्षक तथा समाजको सहकार्यका कारण विद्यालयले निरन्तर प्रगति गरिरहेको बताए ।
प्राचार्य इन्द्र मोहन झाले २००३ सालमा स्थापना भएको विद्यालयले सामुदायिक विद्यालयतर्फ आधारभूत तह कक्षा ८ को परीक्षामा धरानमा पहिलो स्थान हासिल गरेको बताए ।
उनले भने "देशभरका सामुदायिक विद्यालयहरू मध्ये तेस्रो स्थान हासिल गर्नु विद्यालयको लागि महत्त्वपूर्ण उपलब्धि भएको छ ।" 
उनले विद्यालयमा बाल विकासदेखि माध्यमिक तहसम्म साधारण शिक्षासँगै प्राविधिक धारतर्फ कक्षा ९ देखि १२ सम्म इलेक्ट्रिकल इन्जिनियरिङ, विज्ञान, कम्प्युटर,होटेल व्यवस्थापन,व्यवस्थापन, शिक्षा,मानविकी तथा सौन्दर्यीकरण ब्युटिसियन एण्ड हेयर ड्रेसिङ विषयहरू अध्यापन भइरहेको जानकारी दिए ।
वार्षिक उत्सवमा कक्षा नर्सरी देखि कक्षा ९सम्मका विद्यार्थीहरूका परीक्षा नतिजा निष्कासन गर्दे करिब ११ सय विद्यार्थीहरूलाई पुरस्कार सहित छात्रवृत्ति समेत वितरण गरियो ।
 १६ सूचक पार गर्दै देशभर तेस्रो :
शिक्षा मन्त्रालय अन्तर्गत शैक्षिक गुणस्तर महाशाखाले मापन गरेको १६ वटा सूचक पार गर्दै पब्लिक स्कुल, धरान–१२ देशभर तेस्रो स्थान हासिल गर्न सफल भएको हो। 
मूल्याङ्कनको नतिजाअनुसार पहिलो स्थानमा शान्ति नमुना माध्यमिक विद्यालय तिलोत्तमा, दोस्रो स्थानमा नवीन अलौकिक माध्यमिक विद्यालय बुटवल र तेस्रो स्थानमा पब्लिक स्कुल, धरान–१२ पर्न सफल भएका हो।
public-2