धरान : सुनसरीमा रहेका लागुऔषध दुर्व्यसनी महिलाहरू मध्ये आधा जसोले सरकारी तथा गैरसरकारी संस्थाले सञ्चालन गर्दै आएको यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी सेवा सुविधा लिँदैनन् ।
सुनसरीमा गैरसरकारी संस्थाको सम्पर्कमा आएका लागुऔषध दुर्व्यसनी महिलाको सङ्ख्या ४७० जना छन् । उक्त सङ्ख्या मध्ये २९१ जनाले मात्र यौन तथा प्रजनन स्वास्थ्यसम्बन्धी सेवा सुविधा लिएको तथ्य दृष्टि नेपालले आइतावर आयोजित प्रशिक्षण कार्यक्रममा सार्वजनिक गरेको छ ।
उनीहरूलाई यौन तथा प्रजनन स्वास्थ्य सेवा पहुँच सहज बनाउन दृष्टि नेपाल र नेपाल परिवार नियोजन सङ्घद्वारा आयोजित प्रशिक्षणमा सङ्घकी शाखा प्रबन्धक रानु राउतले दुर्व्यसनी तथा सीमान्तकृत महिलाहरूलाई यौन तथा प्रजनन स्वास्थ्य सेवामा जोड्न स्थानीय तह र सरोकारवाला बिच सहकार्य जरुरी भएको बताइन् ।
दृष्टि नेपालकी निर्देशक परिना सुब्बा लिम्बुले डाक्टर–आधारित क्लिनिक सेवा धरान र इटहरीमा सुरु भइसकेको भए पनि रामधुनी र वराहक्षेत्रमा हालसम्म सेवा सञ्चालन सुरुवाती चरणमा रहेको बताइन् । सुनसरीको धरान, इटहरी, रामधुनी र वराहक्षेत्र क्षेत्रमा सेवा विस्तार गर्ने लक्ष्य राखिएको उनले जानकारी दिइन् ।
कार्यक्रममा डकुमेन्टेसन अफिसर सोना सुखेतीले दुर्व्यसनमा संलग्न ४७० महिलासँग सम्पर्क तथा समन्वय कायम रहे पनि हाल सम्म केवल २९१ जनाले मात्र उपलब्ध सेवा सुविधा लिएको जानकारी दिएकी हुन ।
प्रशिक्षणमा विभिन्न समुदायका प्रतिनिधि, अपाङ्गता भएका युवा, यौनकर्मी महिला तथा एचआइभी सङ्क्रमित व्यक्तिहरूले आफ्नो अनुभव र सिकाइ प्रस्तुत गरेका थिए । उनीहरूले सङ्घमा आबद्ध भएपछि क्षमता अभिवृद्धि भएको बताए ।
प्रशिक्षणले यौन तथा प्रजनन स्वास्थ्य सेवामा समावेशी पहुँच सुदृढ गर्न तथा अपाङ्गता भएका व्यक्तिहरूको अधिकार सुनिश्चित गर्न स्थानीय स्तरमा चेतना अभिवृद्धि गर्ने लक्ष्य राखेको आयोजकले जनाएको छ ।


































































