धरान : कोशी प्रदेश फुटबल सङ्घ एन्फाका अध्यक्ष किशोर राईले सङ्घीय सरकारको बजेटबाट यसपाली धरान रङ्गशालालाई फ्लगलाइट जडान गरी रात्री खेलकुदका लागि आधुनिक रङ्गशालामा स्तरोन्नति गर्ने माग पुरा नभए धरानका खेलाडीहरूले काठमाडौँसम्म पुगेर आन्दोलन गर्ने चेतावनी दिएका छन् ।
यसपालीको राष्ट्रिय बजेटमा धरान विल्कुलै पाखा पारिएको अवस्थामा धरान रङ्गशालाको स्तरोन्नति गर्न भने फुटबलका अगुवा तातिएका हुन् ।
यसपालीको बजेटमा खेलकुद क्षेत्रका लागि कुल ४ अर्ब ३ करोड विनियोजित भए पनि नयाँ योजनामा धरानको नाम कतै उल्लेख छैन ।
अधिकांश पूर्वाधार निर्माणमा परेको बजेटमा ८ सहरमा क्रिकेट, १० फुटबल रङ्गशालालाई स्तरोन्नति गर्ने ३ देखी ५ वर्षे योजना सरकारले अघि सारेको छ । ती १० फुटबल रङ्गशालामा धरानलाई प्राथमिकता दिनुपर्ने माग कोशी एन्फा अध्यक्ष राईले उठाएका हुन । 
धरानमा भएको चौथो ‘हाम्रो धरान भेट्रान फुटबल प्रतियोगिता’ समापनमा प्रमुख अतिथी राईले भने ‘ यदि हाम्रो माग सम्बोधन भएन भने दशौँ गाडी मानिस लिएर काठमाडौँ पुग्छौँ र दबाब मूलक आन्दोलन गर्छौँ ।’
उनले जस्तो सुकै परिस्थितिमा पनि यसपाली धरानमा आधुनिक फ्लडलाइट स्थापना गरेरै छाड्नु पर्ने चुनौती आएको बताए । धरान फुटबलको उर्वर भूमि भएकोले खेल पूर्वाधार विकासमा राज्यले प्राथमिकता दिनुपर्ने बताए ।
उनले भने ‘फ्लडलाइट जडान गरी रङ्गशालाको स्तरोन्नति राष्ट्रिय, अन्तर्राष्ट्रिय प्रतियोगिता सञ्चालनका लागि सहज बनाउन जरुरी छ ।’ यसबाट खेल पर्यटन प्रवर्द्धनमा नयाँ आयाम थपिने उनको भनाई छ । 
धरान फुटबल क्लबका अध्यक्ष प्रताप तामाङले सङ्घीय सरकारले जेठ १५ गते सार्वजनिक गरेको बजेटमा देशभरका १० वटा रङ्गशालाका लागि बजेट विनियोजन गरे पनि धरानलाई उपेक्षा गरिएको गुनासो गरे ।
धरानलाई खेलकुदको ‘हब’ भनिए पनि वास्तविक अवस्था भने नाजुक र निराशाजनक रहेको बताउँदै उनले भने ‘खेलकुद विकास तथा खेलाडी उत्पादनका लागि आवश्यक बजेट, स्रोत–साधन र सरकारी सहयोग अभावको बेला बजेटले धरानको खेल क्षेत्र निराश बनाएको छ ।’
राष्ट्रिय बजेटमा खेलकुद :
यसपालीको बजेटमा खेलकुद क्षेत्रका लागि ४ अर्ब ३ करोड विनियोजन विनियोजन भएको छ । सरकारले छुट्याएको खेलकुद क्षेत्रको बजेटमा अधिकांश पूर्वाधार निर्माणमै परेको छ । ८ सहरमा आधुनिक क्रिकेट रङ्गशाला बनाउनेदेखि १० फुटबल रङ्गशालालाई स्तरोन्नति गर्ने योजना सरकारले अघि सारेको छ । जसलाई सरकारले ३ देखि ५ वर्षको समय सीमा तोकेको छ ।
प्रमुख ८ सहरमा ५ वर्षभित्र मुलपानी क्रिकेट रङ्गशाला, गिरिजाप्रसाद कोइराला क्रिकेट रङ्गशाला र कैलालीको फाप्ला क्रिकेट रङ्गशाला निर्माणका लागि डिजाइन पुनरावलोकन गरी लगानी मोडालिटी तयार गर्ने योजना सरकारले अघि सारेको छ ।
चालु आर्थिक वर्षमा उक्त ३ सहित रुपन्देहीको सिद्धार्थ क्रिकेट स्टेडियम निर्माणका लागि ४२ करोड बजेट विनियोजन भएको थियो । तर,अहिलेको सरकारले डिजाइन नै पुनरावलोकन गर्ने योजना अगाडि बढाएको छ ।
सरकारले तीन वर्षको समय सीमा तोकेर इन्डोर बहुउद्देश्यीय कभर्डहल बनाउन बजेटसमेत विनियोजन गरेको छ । विराटनगर, लहान, काठमाडौँ, पोखरा, बुटवल, सुर्खेत र धनगढीको फाप्लामा कम्तीमा २ हजार क्षमताको कभर्डहल बनाउने योजना सरकारको छ ।
खेल पूर्वाधारलाई युवा विकास र स्थानीय अर्थतन्त्रसँग जोड्दै नीति सरकारले ल्याएको छ । सोही अनुसार आगामी ३ वर्षभित्र कम्तीमा ८ हजार दर्शक क्षमताका १० वटा फुटबल रङ्गशालालाई फ्लडलाइट सहितको स्तरोन्नति गरिने घोषणा गरिएको छ ।
तर ती १० वटा रङ्गशालाको नाम उल्लेख छैन । बजेटको घोषणामा नाम उल्लेख नहुँदा सरकारबाट फेरी धरान रङ्गशाला उपेक्षित हुने हो कि भनी धरानको खेल क्षेत्र तातिनु जरुरी भएको धरान फुटबल क्लबका अध्यक्ष प्रताप तामाङले बताए ।