धरान : यातायात व्यवसायीहरूले अझै पूर्वाधार नपुग भएको बताएको धरान–८ मा निर्मित नयाँ बसपार्क उपमहानगरपालिकाले असार १ गते उद्घाटन गरी भानुचौकबाट सार्ने निर्णय गरेको छ ।
कार्यपालिकाको शुक्रवार बसेको बैठकले उक्त निर्णय गरेको हो ।
निर्णयमा बसपार्क सञ्चालन गर्न गठित समितिले दिएका सुझावहरू अनुमोदन गर्ने कुरा उल्लेख भए पनि समितिले दिएको सुझाव कार्यान्वयन भए नभएको बारेमा स्पष्ट उल्लेख छैन ।
नयाँ बसपार्क पूर्ण क्षमतामा सञ्चालन गर्न आवश्यक थप पूर्वाधार तयार नभए पनि तत्काल आधारभूत तयारी उद्घाटन हुने मितिको ३ दिन अघि सम्म नभएको बताइएको छ । 
समितिका सदस्य नेपाल यातायात व्यवसायी राष्ट्रिय महाससंघ कोशी प्रदेश संयोजक सरोज श्रेष्ठले भने ‘उद्घाटन गर्न सकिएला तर उपमहानगरपालिका बसपार्क सार्ने ठोस कामहरू पुरा गर्न भने अझै गम्भीर भएन ।’
उनका अनुसार जेठ ४ गते समितिका बैठकले बसपार्क सार्न तत्काल तयारी गर्नु पर्ने आधारभूत कुराहरू हप्ता दिनमा पुरा गर्ने निर्णय गरेको थियो ।तर २१ गतेको बैठकमा त्यस बारे प्रश्न उठ्दा कुनै काम भएको थिएन । उनले भने ‘बसपार्क सहज रूपमा सञ्चालन हुने कुरा यात्रुको सुविधामा आधारित हुने भएकाले अब दुई दिन भित्र आधारभूत कामहरू पुरा भए उद्घाटनले सार्थकता पाउला ।’
निर्माण योजना कार्यान्वयन देखी नै विवादास्पद रहँदै आएको धरान बस टर्मिनल निर्माण सम्पन्न भएको लामो समय बितिसक्दा पनि सञ्चालनमा आउन सकेको छैन ।
यसअघि पनि पटक–पटक उद्घाटन र सञ्चालन मिति तोकिए तापनि बसपार्कसँग सम्बन्धित जग्गा विकास तथा कानुनी विवादका कारण प्रक्रिया स्थगित हुँदै आएको थियो । 
कार्यवाहक नगर प्रमुख अइन्द्रविक्रम बेघाका अनुसार उद्घाटनपछि बसपार्कलाई क्रमशः पूर्ण क्षमतामा सञ्चालनमा ल्याइनेछ ।
बसपार्क आधुनिक सुविधा सम्पन्न बसपार्क सञ्चालनमा आएपछि धरानको यातायात व्यवस्थापन, पार्किङ समस्या न्यूनीकरण हुनेछ ।
धरान नगर अस्पताल सञ्चालन गरिने :
कार्यपालिका बैठकले हाल सञ्चालनमा रहेको धरान–१ छाता चौक स्थित पुरानो अस्पताल परिसरको धरान स्वास्थ्य चौकीलाई स्तरोन्नति गरी १५ शैयाको नगर अस्पताल सञ्चालन गर्ने निर्णय गरेको छ ।
नगर अस्पताल सञ्चालनका लागि आवश्यक जनशक्ति, सङ्गठन तथा व्यवस्थापन सर्वेक्षण गरी दरबन्दी व्यवस्थापनको प्रस्ताव आगामी नगर सभाबाट स्वीकृत गर्ने निर्णय गरिएको छ ।
बैठकले धरान–१३ को सर्दु जलाधार साविक बाँझगरा ९ क घोपा ७घ र घोपा ७ङ को जग्गा तथा धरान–१७ स्थित डाँडा घोपा विमानस्थल क्षेत्रका जग्गाधनीहरूले कार्यालयको प्राविधिक वा अन्य कारणले विगतमा कर बुझाउन नसकेको अवस्थामा चालु आर्थिक वर्षको असार मसान्तभित्र कर तिर्न आए जरिवाना छुट सहित कर असुल गर्ने निर्णय समेत गरिएको छ ।

खत्री धारा स्थित दाहसंस्कार स्थलमा शव दाह मेसिन खरिद, आर्थिक वर्ष २०८३/०८४ का लागि आन्तरिक आय सङ्कलन ठेक्का व्यवस्थापन, सामाजिक सुरक्षा डोर म्याट खाताको रकम जम्मा गर्ने भएको छ ।
त्यसको लागि व्यवस्था, विपद् व्यवस्थापन नीति–२०८२ तथा विपद् जोखिम न्यूनीकरण रणनीतिक कार्य योजना २०८२/२०८७ स्वीकृत गरिएको छ ।
बैठकले वृत्ति मार्ग निर्देशन सेवा इकाइ सञ्चालन कार्यविधि,टोल विकास संस्थासम्बन्धी कार्यविधि परिमार्जन,बन्द तथा सञ्चालनमा रहेका व्यवसायहरूको लागत कट्टा,बाटो मापदण्ड कायम तथा नामकरण अनुमोदनका विषय पनि पारित गरेको छ।
त्यसैगरी साइट सेट ब्याक,बाटो दर्ता राजस्व, मदन भण्डारी राजमार्गको सिमाङ्कन र नक्सा पाससम्बन्धी विषय,कर्मचारी सरुवा तथा अध्ययन बिदा,नगर शिक्षा योजना तर्जुमाका लागि विज्ञको पारिश्रमिक,स्वयंसेवक शिक्षक व्यवस्थापन तथा भोजपुर–सुनसरी समाजलाई जग्गा उपलब्ध गराउने प्रस्ताव समेत कार्यपालिकाबाट स्वीकृत भएका छन् ।