धरान : स्थानीय ३ करोड लगानीमा ६ अर्बको कोशीबाट धरान खानेपानी ल्याउने आयोजना धरान उपमहानगरपालिकाले स्वीकार गर्ने विषयमा आज शुक्रवार अन्तिम अनुगमन भएको छ ।
खानेपानी तथा सरसफाइ आयोजना कार्यान्वयन अन्तिम चरणको तयारीमा सङ्घीय सरकारको खानेपानी तथा ढल व्यवस्थापन विभाग, डिजाइन टोली, प्रदेश सरकार तथा धरान उपमहानगरपालिकाका कार्यवाहक प्रमुख अइन्द्र विक्रम बेघा लगायतका प्रतिनिधिबिच आयोजनाको डिजाइनलाई अन्तिम रूप दिने विषयमा छलफल भयो । टोलीले खानेपानी आयोजनाको स्थलगत अनुगमन पनि गरेको छ ।
विस्तृत परियोजना प्रतिवेदन डीपीआर र प्रारम्भिक डिजाइनको काम यसअघि नै सम्पन्न भएको कोशीबाट धरान खानेपानी ल्याउने योजना यसअघि तत्कालीन नगर प्रमुख हर्क साम्पाङले अस्वीकार गरेका थिए ।
धरानको खानेपानी समस्याको दीर्घकालीन समाधानका लागि कोशीबाट पानी ल्याउने आयोजना उपमहानगरपालिकाले स्वीकार गरेको कार्यवाहक प्रमुख अइन्द्रविक्रम बेघाले बताए ।
उनका अनुसार अनुगमनका क्रममा आयोजना कार्यान्वयनका लागि आवश्यक बजेट व्यवस्थापन, डिजाइनको अन्तिम तयारी तथा फिल्ड भेरिफिकेसनबारे विस्तृत समीक्षा गरिएको छ ।
विस्तृत परियोजना प्रतिवेदन डीपीआर र प्रारम्भिक डिजाइनको काम यसअघि नै सम्पन्न भइसकेकाले अब स्थलगत अवस्था पुनः प्रमाणीकरण फिल्ड भेरिफिकेसन गरी अन्तिम डिजाइन स्वीकृत गरिने भएको हो । त्यसका लागि टोली शुक्रवार चतरा क्षेत्रमा पूर्व सर्वेक्षण तथा फिल्ड अनुगमनका लागि गएको छ ।
यो आयोजना सङ्घीय सरकार र एसियाली विकास बैङ्क एडिबीको ऋण सहयोगमा सञ्चालन हुनेछ । करिब ६ अर्ब रुपैयाँ लागतको आयोजनामा कुल लागतको ८० प्रतिशत रकम सङ्घीय सरकार तथा एडिबीबाट व्यहोर्ने व्यवस्था छ ।
बाँकी २० प्रतिशत स्थानीय साझेदारीबाट जुटाइनेछ । त्यसमध्ये १५ प्रतिशत टाउन डेभलपमेन्ट फन्ड टीडीएफ मार्फत र ५ प्रतिशत धरान उपमहानगरपालिकाले लगानी गर्ने त्रिपक्षीय मोडल तय गरिएको छ ।
कावा प्रमुख बेघाले भने ‘धरान उपमहानगरपालिकाले दायित्वमा पर्ने ३ करोड चालु आर्थिक वर्षको बजेटमा विनियोजन गर्ने बताए ।’ उनले आयोजना पूर्ण रूपमा अनुदानमा सञ्चालन गराउन सङ्घीय सरकारसँग निरन्तर पहल गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।
उनका अनुसार धरानको दीर्घकालीन खानेपानी समस्या समाधानका लागि यो आयोजना अत्यन्त महत्त्वपूर्ण छ । आयोजनामा हाल करिब ५० करोड रुपैयाँ बजेट विनियोजन भइसकेको छ । बाँकी रकम आगामी तीन वर्षभित्र चरणबद्ध रूपमा उपलब्ध गराइने छ ।
सम्बन्धित निकायले यो आयोजना सम्पन्न भएपछि धरानको दीर्घकालीन खानेपानी समस्या समाधान हुने विश्वास व्यक्त गरेका छन् । फिल्ड भेरिफिकेसन र अन्तिम डिजाइन स्वीकृतिपछि निर्माण कार्य औपचारिक रूपमा सुरु गरिने तयारी गरिएको छ ।
खानेपानी तथा ढल व्यवस्थापन विभागका प्रतिनिधि शरद कुमार यादवले सङ्घीय सरकारबाट प्रारम्भिक बजेट सुनिश्चित भइसकेको बताए । उनले भने ‘चतरा क्षेत्रबाट धरानमा ल्याइने खानेपानी तथा सरसफाइ आयोजनाको डिजाइनलाई अन्तिम रूप दिने प्रक्रिया चलिरहेको छ ।’
उनका अनुसार डीपीआर तयार भइसके पनि फिल्डमा पुगेर अन्तिम अवस्था प्रमाणीकरण फिल्ड भेरिफिकेसन गरेपछि मात्रै डिजाइन स्वीकृत गरिनेछ । विभाग, डिजाइन टोली, प्रदेश सरकार र स्थानीय तहबिचको समन्वयमा आयोजना कार्यान्वयनलाई तीव्रता दिइने उनले बताए ।