इटहरी : सुनसरीको देवानगञ्ज गाउँपालिका–३, कप्तान गन्जमा सोमबारको अघिल्लो रात शिव भक्तहरूले डिजे बजाएपछि झडप भएको छ । डिजे बजाउने र मध्यरातमा होहल्ला नगर्न आग्रह गर्ने दुई समूहको विवाद बढेर मृत्यु सम्म पुगेको हो ।
दुई समूहको विवादले झडपको रूप लिएपछि स्थिति नियन्त्रणमा लिन प्रहरीले गोली चलाएको थियो । प्रहरीले चलाएको गोली लागेर एक जनाको मृत्यु भएको छ भने ८ जना स्थानीय युवा घाइते भएका छन् । युवाहरूको आक्रमणमा परी ८ जना प्रहरी समेत घाइते भएको जनाइएको छ ।
मृत्यु हुनेमा देवानगञ्ज गाउँपालिका–३, कप्तानगञ्जका २४ वर्षीय ओमप्रकाश मेहता रहेका छन् । मेहताको विराटनगर स्थित न्युरो अस्पतालमा उपचारको क्रममा निधन भएको हो ।
प्रहरीका अनुसार साउने सोमबारको बोल बम यात्राका लागि भन्दै राति एउटा समूह डिजे बजाउँदै सप्तकोशी नदीतर्फ जाने तयारीमा थियो । सोही क्रममा अर्को समूहले रातिको समयमा होहल्ला भएको भन्दै विरोध गरेपछि विवाद सुरु भएको हो ।
स्थिति तनावग्रस्त बन्दै गएपछि गोली चलाउनु परेको प्रहरीको भनाइ छ । समूहबिचको झडपमा कप्तान गन्ज बजारको घर, मेडिकल, सवारीसाधन तथा अन्य संरचनामा तोडफोड र आगजनी छ ।







































































