धरान : धरान–२ स्थित देशीलाइन क्षेत्रमा सडकलाई दुईतर्फी सवारी चल्न दिनपर्ने माग गर्दै स्थानीय व्यवसायीहरूले बुधवार पसल बन्द गरेर धर्ना दिएका  छन्।
व्यवसायीहरूले  धरान–२ का वडाध्यक्ष रमेश राईले व्यवसायीसँग कुनै समन्वय नगरी मोटरसाइकलका लागि मात्रै दुईतर्फी आवागमन खुला गरेपछि विरोध स्वरूप धर्ना दिएको बताएका छन् । 
स्थानीय व्यवसायी भुपाल राईले पटक–पटक कार्यवाहक मेयर अइन्द्र विक्रम बेघासमक्ष डेलिगेसन गएर व्यवसायीको समस्या राखे पनि सुनुवाइ नभएको बताए। उनले बसपार्क स्थानान्तरणपछि देशी लाइनको व्यापार प्रभावित बनेको र त्यसबारे व्यवसायीसँग समन्वय नगरी निर्णय गरिएको आरोप लगाए।
उनका अनुसार बुधवार पनि वडाध्यक्ष राईले "तिमीहरूलाई सोधेर खोल्नुपर्ने जस्तो" अभिव्यक्ति दिएपछि व्यवसायीहरू थप आक्रोशित बनेका हुन्। त्यसपछि बाध्य भएर पसल बन्द गरी आन्दोलनमा उत्रिएको उनले बताए। व्यवसायीहरूले सम्बन्धित निकायसँग तत्काल संवाद गरी देशीलाइन क्षेत्रमा दुईतर्फी सवारी सञ्चालन गर्न माग गरेका छन्।
यसै बिच व्यवसायीले लगाएको ब्यारिकेडलाई प्रहरीले हटाउन खोजेपछि आक्रोशित व्यवसायिहरुलाई कावा प्रमुख अइन्द विक्रम बेघा देशिलाईन नै आएर उनीहरूको माग सुनेका थिए ।
उनले व्यवसायीहरूलाई संयम अपनाउन आग्रह गरेपछि मात्र व्यरिकेड खोलिएको थियो । कावा प्रमुखले "यो स्थानीय समस्या भएकोले प्रहरीहरू अगाडी नबढ्न" आग्रह गरेपछि प्रहरी पछि हटेको छ ।