त्यसो त किरात/किराँती इतिहास अनि किरात/किराँती महाजातिभित्रका कैयौँ जातिका बारेमा प्राचीन हिन्दु धर्म ग्रन्थ ऋग्वेद, अथर्व वेद, पुराण, रामायण, महाभारत आदि ग्रन्थसमेतमा उल्लेख गरेको पाइन्छ । यसरी हेर्दाखेरि किरात/किरातीहरु सुरुदेखिकै इतिहास अनि उनीहरूका बारेमा विस्तृतमा लेख्ने हो भने, अर्को महाभारत र रामायण जस्ता कयौँ ठेलीहरू तयार हुन्छन् ।छोटकरीमा हालसम्म आफूलाई किरात/किराँती जाति हौँ भनी स्विकार्ने र किराँती हुनुमा गर्व गर्ने जातिबारे छोटकरीमा लेख्ने प्रयास गरिएको छ ।
केही समयअघि सुनसरी जिल्लास्थित धरान उपमहानगर पालिकाभित्र पर्ने विजयपुर डाँडोमा कथित राई जाति भनिनेहरूले धनुकाँडको प्रतीक ठड्याएपछि धेरै दिनसम्म फेसबुकलगायत सामाजिक सञ्जालमा गलफत्ती भएपछि सो प्रतीक अज्ञात व्यक्तिहरूले उखेलेका थिए।
हुन त कथित राई जाति भनिने व्यक्ति अथवा संस्थावालाले पनि विजयपुर डाँडामा धनुकाँड राख्ने लिँडेढिपी गर्नु, राख्नु नहुने थियो । प्रस्टै छ, इतिहास पढ्दाखेरि ऐतिहासिक कालमा विजयपुरमा सेन राजाका प्रधानमन्त्री पद (ऊ वेला ‘राया, राय, राई’ शब्द लेखिन्थ्यो भनिन्थ्यो) हुँदै अहिले ‘राई’ भएको ‘पद’ पाउने व्यक्तिहरू सबै लिम्बु भएको प्रमाणित भएको छ । भलै बुद्धिकर्ण ‘राया, राय, राई’लाई याक्खा जातिले पनि आफ्नो वंश हो अथवा आफ्नो वंश थियो भनी दाबी गरिरहेको देखिन्छ ।
तर, त्यही ‘राया, राय, राई’ हुँदै अहिले राई जाति भयौँ, हौँ भन्ने ऊ वेलाका खम्बुका सन्तान, मेवाहाङका सन्तान आठपहरिया, मेवाहाङ, याम्फु, याक्खा लोहोरुङलगायतका जातिहरू आफूलाई कथित राई जाति भनेरै चिनाउँछन्, आफूलाई कथित राई जाति भन्नमै गर्व गर्ने गरेको देखिन्छ । संस्थागत वा व्यक्तिगत हो ? कसैले पनि थाहा नपाएको त्यो धनुकाँडको प्रतीक विजयपुर डाँडामा ठड्याएपछि लामो समयसम्म कथित राई जाति र लिम्बु जातिबिच सहमति भयो । यसरी आफूलाई किरात/किराँती जाति दाबी गर्ने जातिहरूबिचमै घरीघरी ‘दन्त-बझान’ हुने गरेको छ ।
हुन त आजभोलि केही लिम्बु विद्धान र अगुवाहरूले आफूलाई ‘किराँती’ होइनौँ वा भनौँ लिम्बुहरू ‘किराँती’ होइन भनी जोडतोडले लागेका छन्, वकालत गर्दै आएका छन् । किरात जाति एवम् किरात इतिहास सम्बन्धी विश्वका विभिन्न लेखक, इतिहासकारहरूले अनेकौँ किताबहरू लेखेका छन् । उनीहरूले किरात जाति र किराँतीका इतिहास सम्बन्धमा लेख्ने क्रममा ती लेखक अनि इतिहासकारहरू एक मत हुन सकेका छैनन् । खास गरेर नेपालमा किरातीहरुले कति पुस्तासम्म शासन गरे ? भनी लेख्ने क्रममा सबै इतिहासकार र लेखकहरूको एक मत रहेको छैन ।
जस्तै ‘गोपाल राज वंशावलीअनुसार ३२ पुस्ता, डेनियल राइटअनुसार २९ पुस्ता, जीपी सिंहका अनुसार २९ पुस्ता, कर्कपेट्रिक वंशावलीअनुसार २७ पुस्ता, सिल्भँ लेभीका अनुसार २८ पुस्ता, इतिहास प्रकाशन अनुसार २५ पुस्ता, डा. स्वामी प्रपन्नाचार्य अनुसार २८ पुस्ता, ‘सुब्बा’ प्रेमबहादुर माबोहाङका अनुसार २८ पुस्ता, धरणीधर दाहालका अनुसार ३५ पुस्ता एवम् भुपेन्द्रनाथ शर्मा ढुङ्गेलका अनुसार ३३ पुस्ताले काठमाडौँ उपत्यकामा राज्य चलाएका थिए । तर समय क्रममा नेपालमा किरात/किरातीहरु विभिन्न कारणले विस्थापित हुँदै आफ्नो जिमी भूमिका छाडेर आफ्नो जातीय स्वपहिचानसमेत गुमाउँदै सीमित क्षेत्रमा बाँकी रहे, रहेका छन् । त्यसो त धेरै जसो किरात÷किरातीहरु अनेक कारणले गर्दाखेरि भारतको सिक्किम, दार्जिलिङ, कालिम्पोङ, सिलोङ, मेघालय, आसाम, बिहार, देहरादुन, म्यानमार (बर्मा), भुटान, हङकङ, बेलायत, क्यानडा, थाइल्यान्ड, मलेसियालगायत विश्वका विभिन्न देशहरूमा फैलिएर बसेको देखिन्छ ।  
हुन त विभिन्न लेखक, इतिहासकार तथा जातिशास्त्रीहरुले नेपालबाट गएका बाहेक विगतदेखि नै आफूहरूलाई किरात भनेर उल्लेख गरेका भारत, म्यानमार, थाइल्यान्ड चीन, मङ्गोलिया, भियतनाम, कम्बोडिया, लाओस आदि देशमा पनि किरात थिए अथवा ती देशका जनताहरू पनि किरात  हुन् भनी लेखेका छन् । तर, हाल उनीहरूले आफूलाई सम्भवतः किरात भनी चिनाउन छाडी सके । त्यसो त नेपालमा पनि हाल राई जाति भनी चिनिने र असलीयता खम्बुका सन्तानहरू जस्तै कुलुङ, नाछिरिङ, बाहिङ, चाम्लिङ, साम्पाङ, खालिङ, जेरो आदि त्यस्तै गरेर मेवाहाङका सन्तानहरू मेवाहाङ, याक्खा, याम्फु, लोहोरुङ अनि मेत्नाहाङका सन्तान लिम्बु एवम् प्रकारले लाङलेवाका सुनुवारले आफूलाई किराँती भनी चिनाउँदै आएका छन् ।
यसरी हेर्दा सुरुमा किरात वंशकै सन्तान मानिएका मेरात्तीको सन्तान धिमालले सुरुमा आफूलाई खुलेर किरातको सन्तान मानेको/भनेको सुनिँदैन थियो । तर अहिले मेरात्तीको सन्तान धिमालले पनि आफूलाई खुलेर किरातको सन्तान मानेको सुनिन्छ । त्यस्तै मेचे आदि जातिले चाहिँ आफूलाई किरातका सन्तान मान्न छाडेका छन् ।
इतिहास हेर्दा विशाल भू-क्षेत्र ओगटेका र विशद रूपमा फैलिएका यी किरातीहरु हाल आएर नेपाल जस्तो सानो (खासमा मझौला) देशको पनि सगरमाथा क्षेत्रको पश्चिम, दक्षिण र पूर्व क्षेत्रमा रहेका केही जातिले मात्रै आफूहरूलाई किराँती भनी चिनाउँछन् । 
नेपालमा रहेका यी किरातलाई पनि नेपालको भगौलिक एकीकरण सँगसँगै उनीहरूको असली जातीय स्वपहिचानलाई नामेट पारेर राईकरण, ‘सुब्बाकरण, ‘मुखियाकरण अनि ‘देवानकरण गरियो । त्यसैले पछिल्लो समयमा उनीहरूको असली किराँती स्वपहिचान नै ओझेल परेको अवस्था छ ।
यसरी ‘राईकरण, ‘सुब्बाकरण, ‘मुखियाकरण अनि ‘देवानकरणले गर्दा आफू आफू बिचमै झैझगडा र फुट आएको स्थिति रहेको छ । खासमा पछिल्लो समयमा आएर मेत्नाहाङका सन्तान लिम्बु जो ‘सुब्बाकरण’मा परेका थिए, उनीहरूले आफ्नो जात ‘सुब्बा’ हो भनेर लेख्न छाडिसकेका छन् । केही लिम्बुले भने अझै पनि आफूलाई ‘सुब्बा’ लेख्ने गरेको पाइन्छ । त्यस्तै लाङलेवाका सन्तान सुनुवारले पनि आफ्नो जात ‘मुखिया’ हो भनेर लेख्न छाडिसकेका छन् ।
हुन त सुनुवार जातिमा अझैँ पनि धेरै जसोले आफूलाई ‘राई’ हो भन्ने भ्रम रहेको पाइन्छ । त्यस्तै पल्लो किरात (लिम्बुवान क्षेत्र) र दार्जिलिङ सिक्किमतिरका सुनुवारहरूले ‘सुनुवार’भन्दा पनि ‘मुखिया’ जाति भनी चिनाउने गर्छन् । उता मेवाहाङका सन्तान याक्खाले पनि धेरै हदसम्म आफ्नो जात ‘देवान’ हो भनेर लेख्न छाडिसकेका छन् ।
राई भन्दा लेख्दा ठुलो होइन्छ भन्ने भ्रम फैलिएको हुनाले गर्दा अझै पनि ‘सुनुवार’ र ‘याक्खा’ जातिका  मानिसहरू अरू जातजातिसँग चिनजान गर्दाखेरि आफूलाई सुनुवार र याक्खा जातिभन्दा पनि राई जाति हो भनी चिनाउने धेरै भेटिन्छ । उता ‘देवान’करणलाई जाति मानेर हिँड्ने याक्खाहरु पनि धेरै नै भेटिन्छ ।
यसरी हेर्दा राईकरणलाई जातमा स्थापित गर्न लागि परेका राई यायोक्खा नामक एनजिओका हर्ताकर्ताहरू एवम् ‘देवानकरण’लाई नै जात भनेर स्थापित गर्न लागि परेका याक्खा जातिका कामरेडहरु र सुनुवार जातिका केही व्यक्तिहरू भविष्यमा रनभुल्लमा पर्नेवाला छन् । किनभने, इतिहास हेर्दा राई, मुखिया र देवान नेपालको कुनै जात वा जाति नभएर शासकहरूले दिएको ‘पद-पदवी पगरी’ मात्रै भएकोले गर्दा जसरी कुलुङ समुदायका अगुवाहरूले विगत २९ वर्षदेखि आफ्नो असली जातीय स्वपहिचान स्थापना गर्न लागिपरेका छन् । त्यसैगरी राईकरण गर्न लागिपरेका राई सर राईनी म्याडमहरूले बेला छँदै आफ्नो असली जातीय स्वपहिचानमा फर्कँदा राम्रो हुन्छ कि ? भन्ने हो । साथै ‘देवान’ पदलाई जात वा जाति भनी स्थापित गर्न लाग्ने देवान सर/म्याडमहरूले पनि बेला छँदैखेरि आफ्नो असली जातीय स्वपहिचानमा फर्कँदाखेरि राम्रो हुन्छ कि त ?
यसरी हेर्दा लामो समय अर्थात् सम्भवतः विसं ०४६ को राजनीतिक परिवर्तनपछि खम्बुका धेरै सन्तानहरूमध्ये एक कुलुङ जातिका अगुवाहरूले राई जात होइन रहेछ, त्यसैले अब हामी राई जातिको रूपमा लेख्न छाडौँ भनी विसं २०५७/०५८ देखि जनवकालत र आन्दोलन गर्न सुरु गर्‍यो ।
हुन पनि हो, सुरुमा ‘कुलुङ’ जातिका अगुवाहरूले आफ्नो असली जातीय स्वपहिचानले चिनिन चाहन्छौँ भनी आन्दोलन अनि जनवकालत थाल्दा धेरै मान्छेहरू नपत्याएर हाँसेको वा खिल्ली उडाएको अहिले जस्तो लाग्छ, यो पङतिकारलाई । नेपाली उखान ‘कुकुर भुक्दै गर्छ, हात्ती हिँड्दै गर्छ’ भनेझैँ जनस्तरमा व्यापक रूपमा चेतनाको विकास र प्रचारप्रसार गर्ने काममा कुलुङ समुदायका अगुवाहरू लागी रहे, जो जति हाँसे पनि वा जसले जति नै खिल्ली उडाए तापनि खासमा आदिवासी जनजातिमा सूचीकृत नभईकन आदिवासी जनजातिको मान्यता पनि नपाइने एवम् नेपालका अन्य आदिवासी जनजाति अनि अन्तर्राष्ट्रिय समुदायमा पनि आफ्नो अलग्गै जातीय स्वपहिचान स्थापित नहुने हुनाले गर्दाखेरि ‘कुलुङ’ जातिका अगुवाहरूले आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठान ऐन २०५८ को दफा दुई (क) मा व्यवस्था भएअनुसार ‘कुलुङ’ जातिलाई सूचीकृत गर्नका लागि तत्कालीन श्री ५ को सरकार, स्थानीय विकास मन्त्रालयमा हरेक पटक नियुक्त हुने नयाँ स्थानीय विकासमन्त्री र राज्यमन्त्री कहाँ सूचीकरणका लागि पहल गरिदिन अनुरोध गर्ने काम पटक पटक भएका थिए । तर कतैबाट, कसैबाट पनि आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठान ऐन २०५८ को दफा दुई (क) मा व्यवस्था गरिएअनुसार ‘कुलुङ’ जातिलाई सूचीकृत गर्ने पहल भएन, सूचीकृत गरिएन । 
हुन त भीड अनि सङ्ख्याको राजनीति गर्नेहरूले सङ्ख्या घटाएर किन राउटे हुने बरु आफ्नो जातीय स्वपहिचान, भाषा, भेषभुषा, चाडपर्व, संस्कार, संस्कृति, परम्परागत कानुन, चालचलन, हामी भन्ने भावना, मूल्य मान्यता आदि त्यागेर कथित  राई भन्दा आफ्नो जातीय स्वपहिचान, भाषा, भेषभुषा, चाडपर्व, संस्कार, संस्कृति, परम्परागत कानुन, चालचलन र हामी भन्ने भावना आदिसहित राउटे हुनु धेरै राम्रो हो । त्यसैले ‘किन राउटे हुने राई नै हुने नि ! भन्नेहरूलाई यो पङ्तिकारको सरल र सहज जवाफ छ ‘आफ्नो जातीय स्वपहिचान, भाषा, भेषभुषा, चाडपर्व, संस्कार, संस्कृति, परम्परागत कानुन, चालचलन, हामी भन्ने भावना, मूल्य मान्यता’ आदि त्यागेर कथित राई हुनुभन्दा आफ्नो जातीय स्वपहिचान, भाषा, भेषभुषा, चाडपर्व, संस्कार, संस्कृति, परम्परागत कानुन, चालचलन, हामी भन्ने भावना आदिसहित राउटे जाति हुनु नै धेरै राम्रो हो । किनभने, यसमा जातीय स्वपहिचानका साथै जातीय चिनारी रहेको हुन्छ, जातीय चिनारी रहेको छ । 
अन्तमा भन्नु पर्दा किरात भित्रका जातिहरू धेरै सङ्ख्यामा रहेका छन् । त्यसमा पनि अझ अन्य किराँती समुदायहरू हेरिकन खम्बुका सन्तानहरू ठुलो र धेरै ठाउँमा फैलिएको देखिन्छ । जस्तै बान्तवा (बुनतावाः पानीको मूल भन्ने अर्थ) हालको भोजपुर (दिहाहाङ बाखा, छियाहाङ बाखा) क्षेत्रमा फैलिएको, चाम्लिङ, थुलुङ (वाछाप्पा, वाछामा), खालिङ (ख्याल) दूधकोशी वारिका विभिन्न क्षेत्रमा बसोबास गरेर आफ्ना भाषा, संस्कृति, चालचलन चलाए, बसाए । त्यसैगरी राताप्खू र खप दूधकोशी पारिको (पिल्मो-सोत्तो), छेम्सी र ताम्सीका सन्तानहरू दूधकोशी पारि हुङ्गु (हुङ्वा) उपत्यका आसपास बसी एकै भाषा, एकै भेषभुषा, एकै संस्कार, संस्कृति अपनाए । पछि गएर ती चारै पुर्खाको सन्तानहरूको सामूहिक जातीय स्वपहिचान कुलुङ रहन गयो ।
उनीहरूको बसोबास क्षेत्रलाई हाल ‘महाकुलुङ भनेर चिनिन्छ । अझ कुलुङ मातृभाषीहरु यो भूक्षेत्रलाई आफ्नो मातृभाषामा ‘मा कूलू’ मात्रै भन्ने गर्छन्, उच्चारण गर्ने गर्छन् ।
ninam-kulung-new