धरान : विजयपुर दरबार क्षेत्रको ऐतिहासिक तथ्यलाई लिएर समुदायबिच बहस भइरहेका बेला धरान उपमहानगरपालिकाका कार्यवाहक प्रमुख अइन्द्रविक्रम बेघाले इतिहासलाई भावनात्मक दाबीका आधारमा नभई तथ्य अध्ययन र ऐतिहासिक दस्ताबेजका आधारमा टुङ्ग्याउनुपर्ने बताएका छन् ।
नेपाल आदिवासी जनजाति महासङ्घ धरान नगर परिषद्को आयोजनामा आइतबार भएको ३२औँ विश्व आदिवासी दिवसमा उनले विजयपुर क्षेत्रलाई कुनै एक जाति वा समुदायको मात्रै इतिहासका रूपमा नहेरेर आदिवासी समुदायको इतिहास, संस्कृति र आस्थाको रूपमा सम्मान गरेर अघि बढ्नुपर्ने बताए ।
उनले विजयपुर क्षेत्र धरानलाई धार्मिक,सांस्कृतिक, ऐतिहासिक तथा पुरातात्त्विक दृष्टिले महत्त्वपूर्ण क्षेत्रको रूपमा विश्वभर चिनाउने क्षेत्र भएको बताए ।
विजयपुर दरबार क्षेत्रको इतिहासलाई लिएर विभिन्न समुदायबाट प्रस्तुत हुँदै आएका दाबी र तर्कको समाधान इतिहासको अध्ययन, विश्लेषण, पुरातात्त्विक प्रमाण, ऐतिहासिक दस्ताबेज,अध्ययन,स्थानीय स्मृति तथा विज्ञहरूको अनुसन्धानलाई आधार बनाउनुपर्ने बताए ।
उनले भने ‘इतिहासले बोल्ने कुरा र पुरातात्त्विक विषय जोडेर विज्ञहरूले निकाल्ने निष्कर्षलाई साझा रूपमा स्वीकार गरेर अगाडि बढ्ने वातावरण बनाउनु पर्छ ।’
उनका अनुसार विजयपुरको इतिहासबारे प्रमाणमा आधारित अध्ययन गरी एउटा साझा दस्ताबेज तयार गर्न सके अहिले देखिएको विवादलाई तथ्यका आधारमा निरूपण गर्न सकिन्छ ।
विजयपुर दरबार क्षेत्रसँगै दन्तकाली, पिण्डेश्वर तथा यहाँका आदिवासी जनजाति समुदायका ऐतिहासिक धरोहर र सांस्कृतिक मान्यताको सम्मान गर्नुपर्ने उनले बताए ।
कावा प्रमुख बेघाले कुनै एक समुदायको ऐतिहासिक वा सांस्कृतिक आस्था स्थापित गराए अर्को समुदायको आस्था र सांस्कृतिक धरोहरमा चोट पुग्न नहुने बताउँदै भने ‘कसैले कसैको संस्कृतिमा धावा बोल्नु हुँदैन, सबैको भावना समेटेर जानुपर्छ ।’
विवाद चर्काउने होइन, विज्ञ अध्ययनबाट निष्कर्ष निकाल्ने क’रामा जोड दिदैं उनले विजयपुर क्षेत्रलाई लिएर उठिरहेका बहस तथा तर्कलाई गलत ढङ्गले व्याख्या गरेर परिस्थिति बिगार्ने प्रयास गर्न नहुने बताए । उनले भने ‘केही मान्छेहरूले परिस्थिति बङ्ग्याउन खोजिरहेका छन्, तर सामूहिक निष्कर्ष निकालेर अगाडि बढ्नुपर्छ ।’
को मान्छैहरुले परिस्थिति बङ्ग्याउन खोजिरहेका छन्, त्यस बारे उनले स्पष्ट बताएनन् । तर परिस्थितिलाई सकारात्मक मोडमा ल्याउन स्थानीय सरकारको तर्फबाट सम्बन्धित समुदाय, इतिहासविद्, पुरातात्त्विक तथा विज्ञहरूलाई समेटेर छलफल र अध्ययनको वातावरण बनाउने प्रयास भइरहेको उनले बताए ।
कार्यक्रम नेपाल आदिवासी जनजाति महासङ्घ धरान समन्वय परिषद्का अध्यक्ष हेमराज जिमीको अध्यक्षतामा कार्यक्रम भएको थियो ।
विश्व आदिवासी दिवसका अवसरमा विभिन्न आदिवासी जनजाति समुदायका सांस्कृतिक झाँकी सहित र्याली निकालिएको थियो । र्याली धरान बजार परिक्रमा गरी धरान–१४ हात्तीसार स्थित आदिवासी जनजाति सङ्ग्रहालयमा पुगेर कार्यक्रममा परिणत भएको थियो ।