धरान : धरान–८ स्थित नयाँ बसपार्कलाई थप व्यवस्थित बनाउन सुरक्षा निकायको विशेष निगरानी बढाइने भएको छ।
बसपार्क क्षेत्रमा देखिएका विभिन्न समस्या तथा निरन्तर आइरहेका गुनासोलाई मध्यनजर गर्दै उपमहानगरपालिका र सुरक्षा निकायबिचको समन्वयमा कडाइ गरिने भएको हो।
सोमबार बिहान धरान उपमहानगरपालिकामा भएको छलफलमा कार्यवाहक नगर प्रमुख अईन्द्रविक्रम बेघाले बसपार्क क्षेत्रमा भइरहेको गतिविधिलाई नियन्त्रण गर्न सम्बन्धित सुरक्षा निकायलाई कडा रूपमा प्रस्तुत हुन निर्देशन दिए।
छलफलका उनले बसपार्कमा देखिएका समस्या पटक–पटक दोहोरिँदै आएको बताउँदै अब छलफलमा मात्र सीमित नभई आवश्यक ठाउँमा तत्काल कारबाही अघि बढाउनुपर्ने बताए।
कावा प्रमुख बेघाले भने "अहिले जे भइरहेको छ,त्यसलाई नियन्त्रण गर्न कडा कारबाही आवश्यक छ, बसपार्कको बारमा आएको गुनासोलाई अब सुरक्षा निकायले गम्भीर भएर काम गर्नुपर्छ।’
बसपार्क क्षेत्रमा देखिएका समस्या नियन्त्रणका लागि सुरक्षा निकायले प्रभावकारी निगरानी बढाउँदै आवश्यकता अनुसार कारबाही गर्ने छलफलमा सहभागी सुरक्षा अधिकारीहरूले बताए ।
बसपार्कलाई सुरक्षित र व्यवस्थित बनाउन उपमहानगरपालिका, नेपाल प्रहरी,सशस्त्र प्रहरी र ट्राफिक प्रहरीबिचको समन्वयलाई थप प्रभावकारी बनाउने विषयमा पनि छलफल भएको थियो।
छलफलमा धरान इलाका प्रहरी कार्यालयका डिएसपी भीषण बाबु राई,सशस्त्र प्रहरीका डिएसपी राकेश उप्रेती, ट्राफिक प्रहरी इन्स्पेक्टर अनिल मावो,राजस्व महाशाखा प्रमुख खगेन्द्र खतिवडा र प्रशासन महाशाखा प्रमुख वेदप्रसाद लगायत सहभागी थिए ।





































































