सरकार धेरै बोल्दिनँ
म पैदल यात्री
तर एउटा बिन्ती बिसाउँछु !
मौसुफको कृपा भए 
मेरो बिन्तिपत्रमा लालमोहर लागोस्
मैले सुनेको हाम्रो एउटा संविधान छ रे !
संविधानमा मौलिक हक छ रे
जसमा भात खान पाउने
बिराम पर्दा ओखती पाउने
अनि मौसुफको हुकुम भयो भने
कुटो कोदालो गर्न नि पाइन्छ रे !
तर मौसुफ
तपाईका दरबारियाहरु,
अर्को अर्थमा बालुवाटारियाहरुले
संविधानमा लकडाउन छ भन्छन्
सङ्कटकाल छ भन्छन्
अध्यादेश मात्र छ भन्छन्
मौसुफ,
हजुरले अस्ति अध्यादेश ल्याउँदा
उनीहरूले हामीलाई
त्यसकै धाराको पानी मात्र खुवाई रहे
ओखती पाइन्छ भन्ने धारा भनेनन्
'घर जान पाउछौ' भन्ने धारा पनि भनेनन्
न त खान पाइने धाराको बारेमै भने
मात्र भनिरहे अध्यादेश ल्याउने धारा ।
तर मौसुफ रेडियोले भनेको
धारा अठारले समानता भन्छ रे
धारा पैतीसले स्वास्थ्य, छत्तीसले खाद्य 
सैतीसले आवास भन्छ रे !
सरकारलाई थाहा नहुन सक्छ 
कतै छेउछाउ बसेकाले
संविधानको कुनै धारामा हाइलाइटर
र कुनैमा टिपेक्स लगाइदिएका त छैनन् ?
सरकार ! 
यतिबेला संबिधानका उल्लेखित धाराहरु 
आकाशतिर फर्किएका उपत्यकाका काकाकुल-ढुङ्गेधारा जस्ता त छैनन ?
 
         
                     
         
                                        
                                                                                                _1749430366.gif) 
         
         
        
















 
         
        

















































 
         
         
        