पथरी : नगर बाहिरबाट तरकारीको आयात तथा बिक्री वितरण बढेको भन्दै मोरङको दक्षिणी नगरपालिका रतुवामाइले नगरबाहिरबाट आयात हुने तरकारी बिक्री वितरणमा रोक लगाएको छ ।

जेठ ३ गतेबाट लागु हुने गरी यो निर्णय गरिएको हो । कोरोना भाइरसको सङ्क्रमण फैलन नदिन गरिएको ‘लकडाउन’ का कारण नगरभित्र उत्पादित तरकारीले बजार भाउ नपाएको र तरकारी विक्री गर्न आउनेबाट कोरोना भाइरसको जोखिम बढेको भन्दै नगरबाहिरबाट आउने तरकारी बिक्रीमा रोक लगाइएको हो ।

भारतीय क्षेत्र सँग सीमा जोडिएको रतुवामाइमा खुल्ला सिमानाको फाइदा उठाउदै भारतीय तरकारी व्यापारी समेत नगर प्रवेश गर्ने गरेको नगरप्रमुख रविन राईले जानकारी दिए ।

राईले भने ‘भारतीय तरकारी व्यापारीले भारतीय तरकारीलाई पनि देश भित्रैको भन्दै नगरमा पठाउन थालेपछि जोखिमबाट जोगिन यस्तो निर्णय गर्ने सहमति गरिएको हो’ उनले भने ‘आफ्नो क्षेत्रमा सजगता अपनाउने हिसाबले बाहिरबाट आउने तरकारी प्रतिबन्ध लगाइएको हो’।

नगर क्षेत्रका किसानले उत्पादन गरेको तरकारीले उचित बजार नपाउँदा यहाँका किसान निराश थिए । नगरको यो निर्णयले यहाँका तरकारी उत्पादन गर्ने किसानलाई राहत पुगेको एक किसानले बताए ।

लकडाउनकै कारण बजार अभावमा यहाँका किसानले उत्पादन गरेको तरकारी खेर गइरहेको थियो भने भारतीय बजारबाट यहाँका बजारमा तरकारी आयात हुँदै आएको थियो ।

यहाँका किसानले अन्य नगर र जिल्लाबाट तरकारी आयात नहुने भएपछि आफ्ना उत्पादन खपत हुने विश्वास लिएका छन् ।