धरान : उद्योग वाणिज्य सङ्घ धरानले लकडाउनको समयमा व्यवसायी केन्द्रित विभिन्न कार्यक्रमहरू गर्दै आएको छ । केही दिन अगाडी व्यवसायी र बैंकर्सहरु बिच अन्तरक्रिया चलाएको सङ्घले शुक्रवार भने होटेल व्यवसायीहरू लाई प्राथमिकतामा राखेर कार्यक्रम आयोजना गरेको थियो ।

बैंकर्सहरु सँग लगानी र व्याजमा कुरा भएको केही दिन अगाडीको कार्यक्रम भन्दा फरक तरिकाले शुक्रवारको कार्यक्रम चलेको थियो । कोरोना महामारी पश्चात् होटेल व्यवसायहरूलाई कसरी नयाँ तरिकाले सञ्चालन गर्ने भन्ने विषयमा छलफल भएको थियो ।

कोरोना महामारी पश्चात् खुल्ने होटलहरु सञ्चालन गर्ने पद्धतिको बारेमा होटेल व्यवसायीहरू सँग ग्रामीण अन्तर्राष्ट्रिय पर्यटनविद् राज वसुले अन्तरक्रिया गरेका थिए । धरानका होटेल व्यवसायीहरू सँग अन्तरक्रिया गर्दा बसुले कोरोना महामारी पश्चात् होटलहरु सञ्चालन गर्ने पद्धति बदल्नु पर्ने बताए ।

महामारीले पर्यटन व्यवसाय धराशायी भयो भनेर नातिना समेत उनले सुझाएका थिए । ' लकडाउन पछि होटेल नाफा मूलक भन्दा पनि ग्राहकसँग भएको रकम अनुसार ओपन बजेटमा चलाउनु पर्छ बसुले भने 'सामान्य ढङ्गको व्यवस्थापन बाट लकडाउन पछि होटेल चलाउने उपायहरू हुन् सक्छन् त्यसैले आत्तिनु भन्दा सिर्जनात्मक हुनु पर्दछ ।'

सुनसरी उद्योग वाणिज्य सङ्घले “कोभिड – १९ ले पर्यटनमा पारेको प्रभाव र आगामी प्रयास” कार्यक्रममा वक्ताका रूपमा आमन्त्रित वसुले अब नाफामूलक भन्दा पनि ग्राहक मैत्री मेनु र होटेलमा कोभिड–१९ को परिप्रेक्ष्यमा सान्दर्भिक वातावरण हुनुपर्ने बताए ।

उनले होटेलमा पाहुना आउँदा 'वेलकम ड्रिङ्क्सको' ठाउँमा बेसार पानी, अदुवा पानी खुवाउने परिपाटी बसाउनु पर्ने बताए । बसुले कोठा, रिसेप्सन, शौचालय लगायतका ठाउँ“मा सेनिटाइज गर्नुपर्ने तथा ग्राहकलाई विश्वासको वातावरण बनाउन जरुरी रहेको समेत बताए ।

सङ्घका प्रथम उपाध्यक्ष शिवराज श्रेष्ठले स्वागत मन्तव्य गरी शुभारम्भ भएको कार्यक्रमको सहजकर्ताका रूपमा कार्यसमिति सदस्य विष्णु बराल रहेका थिए । जुम एप्लिकेशनको माध्यमबाट गरिएको सो कार्यक्रमका नेपालका धेरै स्थानका पर्यटनकर्मीहरुको सहभागिता रहेको थियो ।

साक्षात्कार कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासङ्घ, प्रदेश नंं. १ का पर्यटन संयोजक भवेशकुमार श्रेष्ठ, होटेल व्यवसायी महासङ्घका केन्द्रीय उपाध्यक्ष दिनेशकुमार चुके, अन्तुडाडा होमस्टेका रुद्र घिमिरे, वाग्लुङका पर्यटनकर्मी निलेश राजभण्डारी, धरानका पर्यटन व्यवसायी वासुदेव बराल, रञ्जना झा, कर्ण राई, झापाका मनीषा चौलागाईं, खोटाङका राज लयालु, वसन्तपुरका प्रकाश श्रेष्ठ लगायतले आफ्ना जिज्ञासाहरू राखेका थिए ।

सङ्घका कार्यसमिति सदस्य एलिना मगरको संयोजकत्वमा सम्पन्न कार्यक्रम करिब २ घण्टा चलेको थियो । त्यसै गरी हाल भइरहेको लक डाउनको अवस्थामा प्रविधिको प्रयोग गरी आयोजना गरिएको यो कार्यक्रम पर्यटनकर्मीहरुका लागि निकै फलदायी रहेको सङ्घका महासचिव राजेश अग्रवालले बताए ।