धरान : सुनसरी उद्योग वाणिज्य सङ्घले अर्थमन्त्रीलाई कर विवरण एवं कर रकम बुझाउने म्याद थप गर्न माग गर्दै इमेल मार्फत ध्यानाकर्षण पत्र पठाएको छ ।

कोरोना भाइरसको सङ्क्रमणबाट जोगिनका लागि नेपाल सरकारले गएको चैत ११ गते देखि लागु गरेको लकडाउन अहिले सम्म निरन्तर जारी रहेकोले अति आवश्यक वस्तुहरू बाहेक देशको अर्थतन्त्र, उद्योग, व्यापार, व्यवसाय ठप्प रहेको ध्यानाकर्षण पत्रमा उल्लेख गरिएको छ ।

यस्तो परिस्थितिमा उत्पादन, विक्री वितरण लगायतका आपूर्ति प्रणाली अत्यन्त नाजुक अवस्थामा पुगेको उल्लेख गर्दै राजश्व विभाग बाट आयकर, मूल्य अभिवृद्धि कर, अन्तःशुल्क विवरण र कर रकम बुझाउने म्याद यही २०७७ साल ज्येष्ठ २५ गते देखी ज्येष्ठ ३२ गतेसम्म निर्धारण गरी सूचना जारी गरेको छ । यसबाट हामी उद्योग व्यवसायीहरू थप आक्रान्त र हतोत्साहित भएको ध्यानाकर्षण पत्रमा भनिएको छ ।

लकडाउनको समयमा घरबाहिर निस्कने अनुकूल अवस्था नरहेको हुँदा कसरी कर रकम र विवरण बुझाउने ? तसर्थ माननीय मन्त्री समक्ष आयकर , मूल्य अभिवृद्धि कर, अन्तःशुल्क विवरण र कर रकम बुझाउने म्याद यही २०७७ असार मसान्तसम्म थप गर्ने वातावरण मिलाई उद्योग व्यवसायीहरूको मनोबल उच्च राख्न र उपयुक्त औद्योगिक एवं व्यावसायिक कायम राख्नका लागि अनुरोध गरेको छ ।

सुनसरी उद्योग वाणिज्य सङ्घ सुनसरीका अध्यक्ष गिरीधारी सापकोटाको हस्ताक्षर रहेको सो ध्यानाकर्षण पत्र आज नै इमेल मार्फत अर्थ मन्त्रालयमा अर्थमन्त्रीलाई पठाई सकिएको सुनसरी उद्योग वाणिज्य सङ्घका सदस्य विष्णु बरालले जानकारी दिएका छन् ।

Ubasangh-jestha-20-A Ubasangh-jestha-20-B